पोखरा । चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधिमा ह्याट्रीक गरेको छ । पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको छ ।
शनिबार पाेखरा रंगशालामा सम्पन्न फाइनलमा महिलातर्फ चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक लगातार उपाधि जितेको हो । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद ५ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । उपविजेता न्यू डायमण्डले नगद २ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । पुरुषतर्फ तीन जना भारतिय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस् क्लबले ३–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेश्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जित्यो तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधिसमेत जितेको हाे ।
च्याम्पियन हेल्प नेपाल स्पोर्टस क्लबले नगद ५ लाख ५५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता गण्डकीले नगद २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । यसैगरी पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेश्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३, दोश्रो सेट २५–२१ र तेश्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेसँगै नगद १ लाख २५ हजार ५५५ को हात पारेको छ ।
प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन उत्कृष्ट खेलाडी घोषित भए। फकर उद्धिन पाकीस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद २५ हजार ५५५ प्राप्त गरे । विधागतरूपमा उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट डिफेन्डरमा न्यू डायमण्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही१५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् । पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका पाकीस्तानी खेलाडी मजहर अली, सोही टिमका पाकीस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दिपक थापा घोषित भए । सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए ।
पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनीहरुले जनही १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे। प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नक आउट आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले समेत सहभागिता जनाएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपाने, अायाेजक टाइगर ग्रुप अफ नेपाल अध्यक्ष नारायण शर्मालगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।