पोखरा । टाइगर ग्रुप अफ नेपाल पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा रोमाञ्चक भिडन्त भइरहेको छ ।
जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारको खेलबाट महिलातर्फ अन्तिम चारको टुंगो लाग्दा घरेलु टोली र भारतको हरियाणा क्लब बाहिरिएका छन् । गण्डकी भलिबल संघका लागि कप्तान नै नेपालको महिला भलिबल टिमका कप्तान अरुणा शाही थिइन् ।
बुधबारको पहिलो खेलमा एपिएफ क्लबले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको छ । खेलमा एपिएफकी निरुता ठगुन्ना टाइगर अफ दि म्याच बनिन् ।
चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको छ ।
समूह ए को एपिएफ ५ अंकसहित समूह विजेता बन्यो । उसले अब त्रिभुवन आर्मीसँग बिहीबार पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । डायमण्डले नेपाल पुलिसँग दोस्रो सेमिफाइनल खेल्नेछ । डायमण्डले ६ र पुलिसले ३ अंक जोडेका थिए ।
उता, पुरुषतर्फ समूह बीमा रहेको नेपाल पुलिसले एपिएफ क्लबसँग लिग चरणमा ३–० ले हार व्यहोर्दा पुलिस घर फर्किने भएको हो । समूह बी मा एपिएफको ३ अंक र समूहमा उपविजेता बनेको श्रीलंका आर्मी टिम समान ३ अंकसहित अन्तिम चारमा प्रवेश गरेको छ । गण्डकीले त्रिभुवन आर्मीसँग बिहीबार अन्तिम लिग खेल्नेछ । किनकि उद्घाटन खेलमा लाइट प्रोटेस्टले अबरुद्ध बनेको थियो । उक्त खेलले नै समूह एको सेमीफाइनल समीकरण टुङ्गो लगाउनेछ ।
पुरुषतर्फ लिग चरणको खेलमा नेपाल पुलिस क्लबले श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको छ । टाइगर कप भलिबलको इतिहासमा नै पहिलो सेटको खेल ४१–३९ मा सकिएको थियो । नेपाल पुलिसले पहिलो सेट ४१–३९ मा जित्न सफल भयो तर दोश्रो सेट २५–१३ ले पाहुना टोलीलाई सुम्पियो । तेश्रो सेट २५–२० र चौथो सेट २५–१७ ले जिते पनि नेपाल पुलिस भने खेलबाट बाहिरिएको छ ।
घरेलु टोली गण्डकी भलिबल संघले टिप टप हेल्प नेपालसँग ३–२ सेटको जित निकालेको छ । गण्डकी प्रदेश भलिबल संघ र तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल ३–२ ले जित निकालेको छ । महिला र पुरुषतर्फ ६÷६ टिमले भाग लिएको प्रतियोगिता माघ ६ सम्म चल्नेछ ।
पुरुष र महिला दुवैतर्फ विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । तेस्रोले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगितामा करिब १ करोड रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।