पोखरा । बगर भाइ खलक पोखराको आयोजनामा आगामी माघ २१ देखि २७ सम्म ‘१३औं बगर भाइखलक तथा दोस्रो हिमालयन ब्रुअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता–२०८०’ हुने भएको छ ।
पोखरा–१, पुरानो टुँडिखेलस्थित फुटबल मैदानमा हुने यो प्रतियोगिताको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।
विभिन्न ३ इभेन्टमा खेलाइने सो प्रतियोगितामा ४०प्लस, ५०प्लस र ६० प्लसका खेल हुने छन् ।
प्रतियोगितामा पोखरासहित युके, देहरादुन, कलकत्ता, काठमाडौं, ललितपुर, हेटौडा, नवलपरासी, बुटवल, सिमरा, वीरगञ्ज, चितवनका गरी ३० टिमले भाग लिने आयोजकको अनुमान छ ।
हिमालयन ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ४० प्लसतर्फ विजेतालाई २ लाख र उपविजेतालाई १ लाख दिइनेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरबार्ड र प्रशिक्षकलाई जनही ५ हजार प्रदान गरिनेछ ।
यस्तै, ५० प्लसतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ ।
६० प्लसतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका मुख्य संयोजक ईश्वरमान गुरुङ हुन् । जसमा विभिन्न १३ उपसमिति गठन गरिएको छ ।
प्रतियोगिताको सहप्रायोजकमा प्रदेष खेलकुद परिषद, बगर भाइखलक युके, पोखरा महानगरपालिका हुन् भने विशेष सहयोगीमा सहारा युके, पोखरा वडा १ कार्यालय, कृषि विकास बैंक, सफल दूध लगायत छन् ।
संस्थाको युके शाखाको नेतृत्व हाल दिलरास गुरुङले गरिरहेका छन् ।
‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुको लागि नौलो आयाम’ मूलनाराका साथ नेपालमै पहिलो पटक २०६८ सालमा आयोजकले एट ए साइड भेट्रान प्रतियोगिता सञ्चालन गरेको थियो । संस्थाले खेलकुदमा विशेष योगदान दिने एक जना अग्रजलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । गत वर्ष खेमबहादुर गुरुङ (सानो) सम्मानित भएका थिए।