पोखरा । पञ्चासे हर्पनडाँडा समाज युकेले उपचारक्रममा बायाँ खुट्टा गुमाएका सिधाने निवासी यामबहादुर गुरुङलाई ९ लाख ४२ हजार २३५ सहयोग गरेको छ ।
युके समाज अध्यक्ष देउकाजी गुरुङ हालमा नेपाल बिदा भएकोले उनकै उपस्थितिमा उक्त रकम याम गुरुङकै डेरामा गएर १ जनवरीमा बुझाइएको थियो ।
याम गुरुङ पोखरा २३, साविक भदौरेतामागी गाविस सिधाने ९ थोँजु स्व. नरजन गुरुङ र जगने गुरुङका छोरा हुन् । ४० वर्षीय उनको बायाँ खुट्टा नचल्ने भैसकेकाले उपचारका लागि मनमोहन हस्पिटल काठमाडौं लगिएकोमा चिकित्सकको सल्लाहमा खुट्टा नै गुमाउनुपर्ने अवस्था भयो ।
यामको आर्थिक स्थिति कमजोर भएकाले पञ्चासे हर्पनडाँडा समाज युकेसँग सहयोगका लागि अनुरोध गरेका थिए । सहयोगको आह्वान गरेको केही हप्तामा नै समाजले रकम जम्मा गरेर नेपाल पठाएको थियो । उठेको रकम हस्तान्तरण गर्ने क्रममा, छिट्टै कृत्रिम खुट्टा राखेर आफ्नो दैनिकीलाई निरन्तर राख्न अध्यक्ष देवकाजी गुरुङले सल्लाह दिएका थिए ।
पञ्चासे हर्पनडाँडा समाज युके पोखरादेखि पश्चिममा पर्ने सिधाने, कुद्बिडाँडा, दम्दमे र मकनपुर गाउँहरु मिलेर २०१२ सालमा स्थापना भएको हो । आफ्नो गाउँघरको लागि सहयोग गर्न निकै सक्रिय समाज हो । गत सेप्टेम्बर महिनामा मात्रै मिर्गौलापीडित सरस्वती पराजुलीलाई २ लाख ४ हजार सहयोग गरेको थियो । समाजले भूकम्प, बाढीपैह्रो, कोभिडको बेला, विनासकारी अवस्थामा निकै सहयोग गरेको थियो । आकस्मिक सेवाको लागि २१ लाख सहयोग गरिसकेको छ । साथै २ जना छात्राहरुलाई युनिभर्सिटीमा पढाइरहेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी सविन गुरुङ, सिधाने गाउँका टोल सयोजक ईश्वर घले, पीडितका कान्छा बुवा इन्द्रबहादुर गुरुङ, दिदी मैता गुरुङ, भिडियोग्राफर विजय थापा, पत्रकार भानु पराजुली र युके समाज अध्यक्षका श्रीमती रीलशोभा गुरुङको उपस्थिति थियो । सविन गुरुङले पीडितको तर्फबाट युके समाजलाई सहयोगका लागि धन्यवाद दिए ।
अध्यक्ष गुरुङले अंग्रेजी नयाँ वर्ष र ल्होछारको बेलामा समाजको तर्फबाट सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै यामको स्वास्थ्यमा छिट्टै सुधारको कामना गरे ।