पोखरा । प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन बनेको हो ।
१३६ रनको विजयी लक्ष्य पाएको आर्मी पूरै २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमात्र बनाउन सक्यो । मधेशका लागि कप्तान हरिशंकर शाहले ४ विकेट लिए । उनले मात्र १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने पर्थिक यादवले १ विकेट लिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा भएको फाइनलमा टस जितेर मधेशले थालेको ब्याटिङमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
मधेसका विशाल पटेल सर्वाधिक ४९ रन बनाउँदै अविजित रहे । ३२ बलको सामना गरेका उनले ३ चौका, ३ छक्का प्रहार गरे । टिम कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इमरान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४ र मायन यादवले ३ रन बनाएका थिए ।
आर्मीका साहव आलमले ३ ओभरमा ५ रन खर्चिदै ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएक भने सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए ।
विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विभागीय ३ सहित १२ टिमले भाग लिएका थिए । प्रतियोगिताको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।