पोखरा । पोखरा रंगशालामा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भयो ।
त्रिभुवन आर्मी क्लब र वागमती प्रदेश तथा एपिएफ क्लब र मधेश प्रदेशबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ ।
मंगलबारको खेलमा जित हात पारेको विभागीय आर्मी समूह ‘डि’ को शीर्ष टोली हो । उसले ४ अंक बटुलेको छ । यस्तै, समूह ‘ए’ को शीर्ष टोली बागमतीले समान ४ अंक बटुल्दै आमीसँग बिहीबार पहिलो सेमिफाइनल खेल्नेछ ।
आर्मी र कोशी प्रदेशबीचको खेलमा आर्मीका भीम सार्की र सन्तोष कार्कीले अर्धशतकीय पारि खेल्दा कोशी ३९ रनले पराजित भयो । टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।
जवाफी ब्याटिङ गरेको कोशी १८ दशमलब २ ओभरमा १ सय ४७ रनमा समेटियो । सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाउँदा समीर कार्की ३४, सुजन थपलिया २१ र मनीष थापाले १६ रन जोडे ।
मंगलबारको अर्को खेलमा सुदूरपश्चिमले ४ विकेटले नेपाल पुलिसलाई हरायो । १५९ रनको लक्ष्य सुदूरले १८ दशमलब ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
विजयी सुदूरसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिँदा रनरेट आधारमा मधेश प्रदेशलाई फाइदा पुगेको छ ।
सुदूरका लागि प्लेयर अफ दि म्याच किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेले । ३४ बलको सामना गरेका उनी नटआउट रहँदै ५१ रन बनाए ।
टस जितेर पारीको सुरुवात गरेका पुलिसका लागि ओपनर कुशल भूर्तेलले ५१ बलको सामना गर्दै ६७ रन बनाए ।
सेमिफाइनल बिहीबारदेखि हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनायो ।