लण्डन । इङल्याण्ड एथलेटिक्समा आवद्ध संस्था नेपाल रनको आयोजनामा दोस्रो नेपाल रन हुने भएको छ ।
१० किमीको यो दौड नोभेम्बर ५ मा लण्डनको दौड नर्थोेल्टस्थित नर्थाला फिल्ड पार्कमा बिहान १० बजे सुरु हुने पत्रकार सम्मेलनमा जनाइयो।
विजेतालाई अन्नपूर्ण म्याराथन–२०२४ मा दौडने मौका दिइने छ भने मुख्य विधामा पहिलो, दोस्रो र तेस्रो हुने महिला र पुरुषलाई ट्रफी दिइने छ । ४० वर्षमाथिका भेट्रानतर्फ महिला र पुरुष विजेतालाई ट्रफी दिइनेछ । सुपर भेट्रान ६० वर्षमाथिका महिला पुरुष विजेतालाई ट्रफी दिइने छ।
आयोजकका अनुसार दौडका लागि हालसम्म २ सय ५९ धावकले नाम टिपाइसकेका छन् । इच्छुकले नोभेम्बर २ सम्म नेपाल रनको वेबसाइटमा गई नाम दर्ता गराउन सकिने सुविधा छ । दौडमा भाग लिनका लागि नेपाल रन युकेका सदस्यलाई २० पाउण्ड, इङल्याण्ड एथलेटिक्स आवद्ध सदस्यलाई २३ पाउण्ड र अन्यलाई २५ पाउण्ड शुल्क तोकिएको छ । साथै १ पाउण्ड प्रशासनिक खर्च लाग्ने छ ।
नेपाल रनका कोच सन्तोष राईले यसालि दौड थप व्यवस्थित बनाउने बताए । उनले दौडमा स्वास्थ्यसम्बन्धी आउनसक्ने समस्यालाई विचार गर्दै पर्याप्त चिकित्सक र नर्सको व्यवस्था गरिएको जानकारी दिए ।
नेपाल रन युकेका को–अर्डिनेटर पाण्डव महतोले नेपाल रन बेलायतको नेपाली समुदायमा स्वास्थ्य र तन्दुरूस्तीबारे जनचेतना जगाउन आयोजना गरिएको बताए ।
नेपाल रनका सल्लाहकार शिव सैँजुले दौडले सबैलाई एकसूत्रमा जोड्ने भएकोले कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताए ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एस्टार फाइनान्सियल सोल्युसन्सका प्रिन्सिपल मीन दर्लामीमगर र कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राईले नेपाल रन–२०२३ को टिसर्ट सार्वजनिक गरे ।
यसपालिका मुख्य अतिथि कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राई र अर्का अल्ट्रा म्याराथन धाक तेन्जी शेर्पा पनि सो दौडका लागि बेलायत आएका छन् ।