लन्डन । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन ५ देखि ६ नोभेम्बर २०२२ (१९ देखि २० कार्तिक २०७९) मा हुने भएको छ ।
पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा आयोजना हुन लागेको अधिवेशनको समुद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने छ । दुई दिनसम्म चल्ने अधिवेशनमा प्रवासी नेपाली मञ्चका संसारभरीका संगठनहरुबाट ३ सय ५० जना प्रतिनिधिको सहभागिता रहने जनाएको छ । अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्ने सिलसिलामा संस्थाको लक्ष्य, उद्देश्य, आदर्श र शिद्धान्तलाई प्रतिकात्मक रुपले प्रस्तुत गर्न सकियोस् भन्ने उद्देश्यले अन्तराष्ट्रिय अधिवेशन विशेषको प्रतिक चिन्ह ‘लोगो’ लाई आइतबार नेकपा (एमाले) केन्द्रीय कमिटीका उपमहासचिव विष्णु रिमालले लोकार्पण गरेका छन् ।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङका अनुसार लोगोमा आधा धर्ति ओगटेको महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को आधा धर्ति ओगटेको पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भागलाई छेउछेउमा नेपाली शक्तिको प्रतिक सूर्यले जोडेको पूर्ण गोलार्धभित्र नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक मनोरम शुन्दरता, मठ, मन्दिर र साँस्कृतिक सम्पदाको छटाले भरिपूर्ण काठमाडौंको काखमा यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न हुँदैछ भन्ने भावलाई समेटिएको छ । अधिवेशनले संसारभरको प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले ‘सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली’ लाई अधिवेशनको मूल नारा बनाईएको अध्यक्ष गुरुङले जानकारी दिए ।
अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि बिधान तर्जुमा गर्नका साथै अन्तराष्ट्रिय नेतृत्व समेत चयन गर्ने जनाएको छ । अध्यक्ष भक्त गुरुङले अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न व्यापक जनमानसमा प्रचारप्रसार गर्न र अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न नैतिक, भौतिक र सबैखालको सहयोग गर्न सञ्चार माध्यमलाई अनुरोध गरेका छन् ।