लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेल्लेस्ले १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन सम्पन्न भएको छ । यही अक्टोबर १ तारिखका दिन आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम तृतीय भएका छन् । नेपाली मूलका राई पहिलो चोटी प्रथम भएका हुन् । यसअघि पनि द्वितीय भइसकेको थियो ।
दौडमा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार दिइएको थियो । प्रतियोगितामा सहभागी सय जनाले मेडल पाएका छन् ।
आठौं वर्षको यो दौडमा १० किमिमा ६२० जना र २ किमिमा १०० जनाभन्दा बढीले भाग लिएका ग्रेटर रसमूर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले जानकारी दिए । दौडमा नेपालीहरुको बाक्लो उपस्थिति थियो । त्यसमा पनि धेरै युवाहरुको सहभागिता रह्यो । २ किमिमा वृद्धवृद्धा बाआमाहरुको सहभागिता थियो ।
जीआरएनसीले मार्सलको जिम्मा, साइन टास्ने र ब्लाक वाटर भ्यालीलाई सहयोग गरेको थियो । मार्सल्लिङका संयोजक उपाध्यक्ष्य उत्तरबहादुर गुरुङले गरेका थिए भने कार्यसमिति, सल्लाहकार, युवा नानीहरु र वृद्ध बाबाहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा जीआरएनसीका पूर्वअध्यक्ष रोहित गुरुङ र कार्यसमिति सदस्य सुष्मा गुरुङले नि:शुल्क खाना प्रायोजन गरेका थिए । दौडमा भाग लिनका लागि २० पाउन्ड र टिकटका लागि छुट्टै २ पाउन्ड तिर्नु पर्थ्यो । २ किमिमा सहभागीलाई भने नि:शुल्क थियो ।
जीआरएनसीका अध्यक्ष गुरुङले सबैको सहयोगका लागि आभार प्रकट गर्दै कार्यक्रम चुस्त र दुरुस्तरुपमा सम्पन्न भएकोमा सन्तुष्ट रहेको जानकारी गराए । उनले आगामी कार्यक्रम अझ बृहत् बनाइने बताए ।