लन्डन । द लन्डन गोर्खा ब्वाइज टिमका चार युवाले १०० किलोमिटर दूरीको दौड सफलतापूर्वक पार गरेका छन् ।
क्वीन्स गोर्खा सिग्नलस् पल्टनद्वारा आयोजित दौडमा गोरखा जिल्ला गुरूङ समाज यूकेमा आबद्ध युवाहरू प्रशान्त, डेभिड, सुजन र दिवस गुरूङले सफलता हासिल गरेका हुन् । ती युवाहरुले १०० किमिको दौडका लागि द लन्डन गोर्खा ब्वाइज नामकरण गरी सेप्टेम्बर २२ देखि २४ तारिखसम्म सहभागिता जनाएका थिए । दौड कार्यक्रमबाट सम्पूर्ण सहभागीहरूले गोर्खा वेलफेयर च्यारिटी ट्र्ष्टका लागि २ लाख पाउन्डभन्दा बढी चन्दा संकलन गरेको जनाइएको छ ।
दौड क्विन्स एलिजावेथ काउन्ट्री पार्क पिटर्सफिल्डबाट सुरू भई विभिन्न ९ वटा चेक प्वाइन्टहरू पार गरी ब्राइटन रेसकोर्समा अन्त हुन्छ । यो दौड हरेक वर्ष गोर्खा वेलफेयर च्यारिटी ट्र्ष्टको कोषलाई सहयोग गर्ने हेतुले आयोजना गर्ने गरिन्छ । सय किमी दुरी दिनरात, हावाहुरी र घामपानीको पर्वाह नगरी ३० घण्टाभित्र पार गरिसक्नुपर्ने समय तय गरिएको हुन्छ ।
यस दौडमा चार/चार जनाको टिम गरी जम्मा २ सय वटा टिमहरूले भाग लिएका आयोजकले जनाएको छ । सहभागी टिममा प्राय: आधा टिमहरू ४० देखि ६० किमि दुरीभित्र आ-आफ्ना शारीरिक अस्वस्थको कारणले गर्दा बीचमै रोकिनु परेको थियो ।
दौडको पूर्वतयारी समाजका संस्थापक अध्यक्ष थमप्रसाद गुरूङको निगरानीमा गत जनवरी महिनादेखि नै संचालन भएको थियो । उनलाई साथ दिन सपोर्टिङ टिममा पूर्वअध्यक्ष पंचबहादुर, एरिया प्रतिनिधि देवबहादुर र कृष्णबहादुर गुरूङहरू थिए । व्यक्तिगत तवरले धेरै युवाहरूले हरेक क्षेत्रमा भाग लिएका छन् तर यसरी नै आ-आफ्ना संस्थाहरूको प्रतिनिधित्व गरी थोरैले मात्र भाग लिएका थिए । युवाहरूलाई प्रेरणा मिलोस् भन्नका खातिर यो कदम चालेको दौडमा सहभागी युवाहरुले बताएका छन् ।
हरेक टिमले कोषका लागि कम्तीमा १२ सय पाउण्ड चन्दा संकलन गर्नुपर्ने जनाउँछ । द लन्डन गोरखा बोइसलाई समाजका अध्यक्ष गौतम गुरुङको सक्रियतामा १६ सय पाउण्डभन्दा बढी कोषलाई चेक हस्तान्तरण गरिएकोमा धन्यवाद ज्ञापन गरिएको छ । यसबाट स्वदेशमा कष्टकर जीवनयापन गरिरहेका नेपालीहरुलाई राहत मिल्नेछ ।