किताब पढ्ने रहर हुँदाहुँदै पनि समय अभावले थुप्रै किताबहरू र्याकमा थुप्रिएर बस्न बाध्य छन् | तीमध्ये 'खुकुरीको धारमा दुई शताब्दी' पनि हो | यो किताब केही वर्षअघि लेखक, कवि, समीक्षक तथा युद्ध साहित्यकार भाइ नरेश काङमाङ राईज्यूले इष्ट लन्डनस्थित एउटा साहित्यिक कार्यक्रममा भेट हुँदा उपलब्ध गराउनुभएको थियो ।
सम्भवत: उक्त भेट नै हाम्रो पहिलो प्रत्यक्ष भेट पनि थियो जस्तो लाग्छ । यदि म गलत छुइनँ भने ? झन् अलिअलि लेख्न रहर गर्ने मान्छेले त आफ्ना सिर्जनाहरूमा अलमलिँदा अलमलिँदै अरु किताब पढ्ने समय निकाल्न नसकिने रहेछ | उसै पनि छोरी मान्छे घरमा पढ्ने फुर्सद कमै मिल्छ, तर म कतै टाढा यात्रामा निस्कँदा भने झोलामा एक/दुई ओटा किताब बोक्ने गर्छु | गत जुन महिनामा यो किताबले पनि म सँगै यात्रा गर्ने अवसर पायो | सोचेंथे युकेबाट हङकङसम्मको यात्रामै पढेर सक्छु | तर लामो यात्राका कारण प्लेनमा थकान महसुस भएर प्राय:जसो सुतेरै बसेछु |
त्यसबेला कोभिडका कारण अन्य देशबाट हङकङ आगमन हुनेले ७ दिन होटलमा क्वारेटिन बस्नै पर्ने नियम थियो | म हङकङको चिंगी भन्ने ठाउँको होटल राम्ब्लरमा ७ दिन बसें, मनमा किताब पढ्ने हुटहुटी छँदैथियो अरु के चाहियो र | अलिअलि जहाजमै पढेकी थिएँ बाँकी त्यहाँ बसेर पढें |
सिंगो किताब ऐतिहासिक र साहसिक लाग्यो, साहसिक यो कारणले कि ? यहाँ रहेका सम्पूर्ण पात्रहरू जो, जसले यति कठोर र साहसिक युद्ध लडेर आफूलाई वीर गोर्खाली भनि इतिहासमा नाम लेख्न सफल भए ती सम्पूर्ण पात्रहरूलाई भेटेर उहाँहरूको कथा-व्यथा संकलन गरेर किताबमा उनीहरूलाई अमर बनाई जुगजुगलाई रहने गरी समेट्नु चानचुने कुरो होइन जस्तो लाग्छ | त्यो पनि बेलायतजस्तो ठाउँमा ? एक जना आफन्त भेट्न जाँदा त दिन मायामारि हिँड्नु पर्छ भने यत्रो अग्रजहरूलाई भेटेर उनीहरूको कथा लेख्नु कहाँ सजिलो होला र ? भाइको साहसलाई सलूट गर्न चाहन्छु |
भीसी रामबहादुर बेघा लिम्बुको युद्ध कथाबाट सुरु भएर, रिटायर्ड ब्रिटिस आर्मी धनबहादुर सुनुवारमा टुंगिएको यो किताबभित्र २६ जना वीर गोर्खालीहरूको भिन्नाभिन्नै युद्ध कथाहरू छन् | भिक्टोरिया क्रसको महत्व र त्यो तक्मा कति बहादुरी देखाएबापत पाइने रहेछ ? भन्ने प्रश्न मनमा थियो त्यो पनि यो किताब पढेपछि छर्लंग भो, हुन त थोरबहुत जानकारी त थियो तैपनि स्वयम् भीसीहरूको युद्धकथा पढेपछि झनै प्रस्ट भएँ |
'२१ नोभेम्बर १९६२ को लडाईंमा एक्सन भएको दिन हो | बिजुलीप्रसाद लिम्बु र खड्कबहादुर लिम्बुले वीरगति पाए, पूर्णबहादुर राई र मनबहादुर राई घाइते भए | मनबहादुर राई अर्कै सेक्सनको सेक्सन कमान्डर थियो'
यो भनाइ भीसी रामबहादुर बेघाको हो मैले यो पढ्दै गर्दा आफ्नै बाजे सम्झें जसले दोस्रो विश्वयुद्ध बर्मा बसेर लडेको कथा मलाई सुनाइरहनुहुन्थ्यो | त्यसबेला बाजेले सुनाएका युद्धकथाले अझैसम्म मेरो मथिंगल हलिन्छ, झन् प्रत्यक्ष युद्ध भोग्नेको गति कस्तो होला ? हाम्रा यी पुर्खाहरूको आँट र हिम्मतलाई सलुट गर्नै पर्छ |
मैले केही महिनाअघि एसपी आसाज्यूले लेख्नुभएको मोटो 'हामीले कसरी प्रजातन्त्र ल्यायौं ?' भन्ने किताब पढेकी थिएँ | त्यो किताबको चर्चा यहाँ किन गर्दैछु भन्ने लाग्ला ? त्यस किताबमा राणाहरूले जबरजस्ती भर्ति लगाएर पहिलो र दोस्रो विश्वयुद्ध लड्न गाउँका सोझासिधा युवाहरूलाई पठाएको इतिहास छ | त्यस बेला थोरै तलब भत्तामा हाम्रा पुर्खाले त्यत्रो साहसिक युद्ध लडेको देखिन्छ | त्यही थोरै तलब भत्ता पनि अंग्रेज सरकारबाट राणाहरूले लिएर कमिसन कटाई अझ थोरैमात्र दिएको देखिन्छ | यसरी मुफ्तमा लडाइँ लड्ने बाजेको नातिनीमै परेकोले पनि होला यो किताबको पात्रहरूको युद्ध कथाहरूले अति नै मन छोयो | त्यसैले म समीक्षक नभए पनि पनि यति राम्रो किताबको म इमान्दार पाठक भएको नाताले थोरै पाठक प्रतिक्रिया लेख्ने आँट गरेकी हुँ |
बेलायतमा एक से एक लेखक, कवि, गीतकार तथा साहित्यकारहरू हुनुहुन्छ उही भीडमा बसेर म पनि लेखि टोपल्छु । खासै पारा भने आउँदैन र पनि निरन्तरता भने छँदैछ | आसा छ मेरो यो पाठक प्रतिक्रियालाई अग्रज लेखक तथा युद्ध साहित्यकार नरेश काङमाङ भाइले स्वीकार्नु हुनेछ |
यहाँ किताबको अन्तिम पत्र भने भाइ आफै हुनुहुन्छ, उहाँको पनि गोर्खा भर्ती भिड्दादेखि अवकाश प्राप्त गर्दासम्मको अनेक कथा व्यथाहरू रहेछन् | उहाँ अशक्त भएर मेडिकल पेन्सन निस्कनु भएको भन्ने त थाहा थियो तर उहाँको ८ पटकसम्म खुट्टाको शल्याक्रिया भइसकेको भन्ने सम्झिँदा पनि आफैलाई पीडा महसुस हुने मार्मिक कथाब्यथा भने थाहा थिएन | भाइलाई शीघ्र स्वास्थ्यलाभको कामना |
भाइको पासपोर्टमा जन्म साल मात्र कर्मचारीहरूले राखिदिएर भर्ती अघिल्लो वर्ष भर्ती नलागेको कथासँग मेरो पनि एउटा कथा मिल्दोजुल्दो पाएँ, नेपालमा सरकारी कर्मचारीहरूको लापरबाहीको सिकार हामी सबै भएका रहेछौं |
मेरो पनि पहिलो पटक हङकङ आउँदा बनाएको पासपोर्टमा जन्म मितिमा साल मात्र राखिदिए छन् |
म सानै थिएँ, पासपोर्ट बन्यो । खुशी हुँदै हिँडें । पछि हङकङ आइडीमा पनि पासपोर्ट अनुसारको गते र महिना बेगरको सालमात्र रहन गयो, त्यसपछिको दु:ख यहाँ के कहनु ? के-के मात्र कहनु ? त्यस्तै मेरो कान्छा छोरालाई ती नै कर्मचारीहरूले एक महिना, एक दिनअघि जन्मेको बनाइदिए | सायद ! फेरि फर्केर सुधारी पाऊँ भनेको भए १०, १२ हजार माग्ने थिए कि ? ठीकै छ छोरा जन्माउने म हो, उसको जन्म दिन थाहा छँदैछ | छोराले भने एक महिना, एक दिनअघि बर्थ डे मनाउँछ के बिग्रियो र ? भनि चुपचाप आएँ इनरुवाबाट | त्यसैले म छोरालाई अझै जन्म दिन वीस गर्न भुल्छु |
मैले यो किताब पढ्दै लैजाँदा थुप्रै व्यक्ति जो वीर गोर्खाली भई हाम्रो देश नेपालको प्रतिनिधि गरेर संसारमा आफ्ना वीरता देखाउन सफल हुनुभएका २६ जना वीर योद्धाहरूको कथा समेटिएकोले यो किताबलाई एउटा अमूल्य ऐतिहासिक पुस्तक भनि नाम दिएर सुरक्षित गरी पढिसकेका किताबहरूको थाकमा थन्काई दिएँ | नरेश भाइलाई यो किताब पढ्ने अवसर दिनु भएकोमा धन्यवाद |