पोखरा । तमुधिं जापानले पोखरा ११ काँहुडाँडामा निर्माण हुने धर्मकाया बुद्धमण्डला सहयोगार्थ ६ लाख १ हजार १ सय रुपैयाँ, तमुधिं नेपालमा निर्माणाधीन गुरुङ संग्रहालयको सहयोगार्थ ५१ हजार १ रुपैयाँ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिलाई ५१ हजार १ रुपैयाँ र तमु(गुरुङ)कलाकार संघ केन्द्रीय समितिलाई ५१ हजार १ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
धर्मकाया बुद्ध मण्डला तथा विकास समितिद्वारा बुद्ध मण्डला निर्माणस्थलमा आयोजित कार्यक्रममा तमुधिं जापानका संरक्षक ईश्वर गुरुङ, चर्चित गायक राजु लामा, तमुधिं जापानका पूर्वअध्यक्षहरु ओमप्रकाश गुरुङ, श्रीभक्त गुरुङ, श्रीजंग गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिव पौडेललगायतले उक्त सहयोग रकम धर्मकाया बुद्धमण्डला निर्माण तथा विकास समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु(गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
तमुधिं जापानको वार्षिक कार्यक्रमअन्तर्गत गत २१ अगष्टमा जापानमा भव्यताका साथ सम्पन्न “२४ औं रोधीं साँझ २०२२”बाट बचत रकम मध्येबाट नेपालको पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र विकासका लागि सहयोग गरिएको हो । बुद्ध मण्डला निर्माण सहयोगार्थ आयोजित रोधी साँझ एवम् कन्सर्टमा मंगोलयन हर्टका चर्चित गायक राजु लामाले विशेष सांगीतिक प्रस्तुति गरी तमुधिं जापानले सहयोग संकलन गरिएको कार्यक्रम संयोजक तथा तमुधिं जापानका संरक्षक ईश्वर गुरुङले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तमुधिं जापानले पोखरा र राष्ट्रको विकासका लागि गरेको सहयोग एवम् पहलको प्रशंसा गर्दै काहुडाँडामा बुद्ध मण्डला निर्माणका लागि पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक बजेट, योजना, आवाश्यक प्रकृयागत कार्यहरुमा पूर्णरुपमा सघाउने बताए ।
पोखरालाई पर्यटकीय सहर घोषणा हुँदैछ त्यसका लागि बुद्ध मण्डला पोखरालाई चिनाउने, पर्यटकको बसाई लम्ब्याउने केन्द्रको रुपमा विकास हुने विश्वास गर्दै उनले सक्दो छिेटो निर्माण कार्य शुरु गरी छोटो समयमै सम्पन्न गर्ने गरी अघि बढ्ने अपेक्षा समेत गरे । यसरी नै तमुधिं जापानका संरक्षक ईश्वर गुरुङले बुद्ध मण्डला निर्माणमा एक इटा थप्न भने पनि सघाउन पुग्छ भन्ने उद्देश्यका साथ रोधी साँझ भव्यताका साथ सम्पन्न गरिएको र बचत रकम सहयोग हस्तान्तरण गरिएको बताए । आफूहरुले बर्षेनी च्यारिटीका लागि कार्यक्रम गरी सघाउँदै आएको भन्दै थोरै भए पनि सहयोगसँगै मण्डला निर्माणको प्रचारमा सघाएको बताए । तमुधिं जापानले नेपालको हरेक सुख दुःखमा साथ दिदै आएको र तमुधिं जापान लगायत एनआरएनए जापानले आगामी दिनमा पनि सघाउने बताए ।
मंगोलियन हर्टका चर्चित गायक राजु लामाले पुण्यकर्मका लागि आयोजित कार्यक्रममा आफूले सहभागिता जनाएर सघाउन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरे । उनले मण्डला निर्माण छिट्टै निर्माण भई पर्यटकहरु ल्याउन पाउने विश्वास व्यक्त गरे । गैर आवसीय नेपाली संघ जापानका अध्यक्ष शिव पौडेलले मण्डला निर्माणको अभियानमा एनआरएनए जापान पनि सघाउन तयार रहेको बताउँदै परियोजनाले छिट्टै पूर्णता प्राप्त गरी जापानिज पर्यटक भित्र्याउन पाउने आशा व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बुद्ध मण्डला निर्माणका लागि वडा, महानगरपालिका सहयोग गर्न तयार रहेको बताउँदै तमुधिं जापानले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुधिं जापान एवम् सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै बुद्ध मण्डला निर्माणका लागि आगामी दिनमा चर्चित गायक राजु लामा, राजेश पायल राई लगायतका गायक सहितको भव्य सांगीतिक कार्यक्रम गरी बुद्ध मण्डला निर्माणको अभियानलाई सहयोग र प्रचार गर्ने इच्छा रहेको बताए । उनले तमुधिं जापानले विदेशी भूमिमा रहेर बुद्ध मण्डला निर्माणार्थ उदाहरणी अभियानको थालनी गरी सहयोग गरेकोमा आभारसमेत व्यक्त गरे ।
कार्यक्रममा तमुधिं जापानको सम्पूर्ण टिमलाई धर्मकाया बुद्ध मण्डला तथा विकास समिति, तमुधिं नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले खादा, माला, फेटा, बुके लगायतले स्वागत सम्मान गरेको थियो ।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी मैना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मण्डला निर्माणको ऐतिहासिकता, उद्देश्य, भइरहेको गतिविधि र योजनाबारे उपाध्यक्ष राजबहादुर गुरुङले प्रस्ट पारेको थियो भने अर्का उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पूर्ण लामा ह्योल्मोले कार्यक्रम संचालन गरेका थिए ।