लन्डन । ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसनको आयोजनामा रेडिंग कप फुटबल प्रतियोगिताको १६ औ संस्करण शनिबार हुँदैछ । २ सेप्टेम्बरमा रेडिंग पाल्मर पार्कमा हुने प्रतियोगिता विभिन्न ३ चरणमा हुनेछ ।
एसोसिएसनका तत्कालीन अध्यक्ष महेश गुरुङको नेतृत्वमा वर्तमान उपाध्यक्ष प्रेम गुरुङ, अर्जुन बस्नेत र सिबी गुरुङलगायत कार्यसमिति र सल्लाहकारको सक्रिय अगुवाइमा यो प्रतियोगिता २००६ देखि सुरु भएको हो ।
मुख्य प्रतियोगिता मानिएको युथ टिम १६, भेट्रानमा ८ र सुपर भेट्रानमा ८ टिमले भाग लिएका छन् । यसपालि पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रमुख टिमका विजेताले २०२३ पाउण्ड र उपविजेताले १०२३ पाउने एसोसिएसनका संस्थापक अध्यक्ष एवं रेंडिग कपका अवधारणाकर्ता महेश गुरुङले बताए ।
यस्तै, भेट्रानतर्फ विजेताले १०२३ र उपविजेताले ५२३ तथा सुपर भेट्रानतर्फ ५०० तथा उपविजेताले ३०० पाउण्ड प्राप्त गर्नेछन् । उनीहरु सबैलाई ट्रफी, प्रमाणपत्र दिइनेछ । गत वर्ष युथ टिमको विजेता सहारा एफसी र उपविजेता मंगोलियन भाञ्जा एफसी हुन् ।
यसपालि विशेष आकर्षणहरुमा पञ्चेबाजा, बिबिक्युलगायत विभन्न परिकारहरु, नाचगान, भाग्योदय चिठ्ठालगायत निशुल्क स्वास्थ्य जाँच पनि रहेको छ । नेपाली पञ्चेबाजा, नेपाली परिकारका विभिन्न खानेकुराहरु सेलरोटी मोमो लगायत नाचगान र खेलकुदको संयोजन यो एउटा नेपाली मेलाको रुपमा मनाउँदै आएको छ ।
बिहान ९ बजे प्रतियोगिता सुरु हुनेछ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विजेता टिमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जानकारी एसोसिएसनका महासचिव ओमकार अधिकारीले बताए ।