काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग फराकिलो २३८ रन अन्तरले पराजित भएको छ ।
घरेलु टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २३ दशमलब ४ ओभरमा १० विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो ।
टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि नेपाललाई लक्ष्य भेटाउन निकै मुस्किल भयो ।
एसिया कप क्रिकेटमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो । यो १६ औं संस्करण हो ।
नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने अवसर जुट्नु नै नेपालको लागि सफल पक्ष हो ।
एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई सात विकेटले पराजित गरेको थियो ।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता छ ।
दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ए नेपाल, भारत र पाकिस्तान तथा समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।