लन्डन । तमुधिं यूके आमा समूहले दौड प्रतियोगिताबाट संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग गरेको छ ।
आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा प्रोस्पेक्टपार्क रेडिङ्गमा १६ जुलाई २०२३ आइतबार सम्पन्न ५ किलोमिटर 'रेस फर लाइफ' दौड प्रतियोगिताअन्तर्गत संकलित ३ हजार ३३३ पाउन्ड क्यान्सर रिसर्च यूकेलाई प्रदान गरिएको हो । तमुधिं यूके आमा समूहको यो लगातार दशौं पटकको सहयोग हो र यो रकम अहिलेसम्मकै ठूलो सहयोग ।
यस पटकको दौडमा तमुधीं यूके आमा समूहका १७ जनाले सहभागिता जनाएका थिए । रेडिङ्गमा आमा समूहकी पूर्वअध्यक्ष पुनम गुरुङले संयोजन गरेकी थिइन् । आमा समूहकी निवर्तमान अध्यक्ष सिता मन्जु गुरुङ, पूर्वअध्यक्षहरु पुनम गुरुङ, पवित्र गुरुङ, प्रेमकुमारी गुरुङ, उपाध्यक्षद्वय कमला गुरुङ र जयन्ती गुरुङ तथा कार्यसमितिका अन्य धेरै सदस्यहरुले दौडमा भाग लिएका थिए ।
क्यान्सर रिसर्च यूकेबाट सम्पूर्ण धावकहरुलाई पदक प्रदान गरिएको थियो भने तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले प्रशंसापत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा चियापानी र खाजा भुजाको बन्दोबस्त गरिदिएकोमा आमा समूह बुद्धिष्ट गुम्बा रेडिङलाई अध्यक्ष हरि गुरुङले धन्यवाद र आभार प्रकट गर्दै कदरपत्र प्रदान गरे ।
प्रतियोगिताकै अवसरमा पूर्वआमा समूह अध्यक्ष रीता गुरुङ र पूर्वआमा समूह महासचिव यशोदा गुरुङले पनि पोखरा नेपालमा उत्ति नै दुरीको दौड सम्पन्न गरेका थिए । दौडमा हौसला र उत्साह बढाउन संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्षहरु परशु गुरुङ र कमल गुरुङ, महासचिव डा. बिशाल गुरुङलगायतको उपस्थिति थियो ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताइन् ।