लन्डन । पोखरेली मञ्च युकेद्वारा आयोजित छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि क्विन्स गोर्खा सिग्नल क्रिकेट टीमले जितेको छ ।
फाइनलमा हिमालयन क्रिकेट टीमलाई ३ रनले हराउँदै उपाधिसहित १५ सय पाउण्ड साथमा रनिङ शिल्ड जित्न सफल भएको हो । उपविजेताले ७ सय पाउण्ड प्राप्त गरेको छ ।
प्रतियोगितामा क्वीन्स, हिमालयन सहित नयाँ यूवा क्रिकेट क्लब, नेप्लिज ओरियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लबले भाग लिएका थिए ।
संस्थाका अध्यक्ष करम गुरुङले नेपाली युवालाई खेलकुदमा आकर्षण गराउन ६ वर्षदेखि निरन्तर प्रतियोगिता गर्दै आएको बताए । प्रतियोगितामा पीपल मरगेज मुख्य स्पोन्सर थियो । खेलको उद्घाटन नेपाली राजदुतावासका द्वितीय सचिव रामबाबु नेपाल र एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगरले संयुक्त रुपमा गरेका थिए ।
वेष्ट प्लेयर मनोज गुरुङ हिमालयन क्रिकेट नगद १ सय ५० पाउण्डका साथमा ट्रफी र वेष्ट बलर विकास गुरुङ हिमालयन क्रिकेट क्लव तथा वेष्ट ब्याट्स्म्यान सचिन शर्मा नवयुवा क्रिकेट क्लब जनही १ सय २० पाउण्डका साथमा ट्रफी दिने व्यवस्था मिलाइएको थियो । हरेक खेलमा म्यान अफ दि म्याच ट्रफी पनि प्रदान गरिएको थियो ।
पिपल नेपाल मोर्गेजका डाइरेक्टर सूर्य गुरुङको मुख्य प्रायोजन तथा ग्रेटर रेडिङ नेप्लिज क्म्युनिटी एसोसियसनको सहयोगमा भएको प्रतियोगिताको संयोजकमा मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका थिए । टिम संयोजकमा विनय पुन, प्रकाश गुरुङ र भीम महेन्द्र गुरुङ रहेका थिए ।
विजेतालाई रेडिङ बोरो काउन्सिलका मेयर टोनी पेजले गोल्ड मेडल दिएर पुरष्कृत गरे । पोखरेली मञ्च युकेका संस्थापक अध्यक्ष क्या सीबी पुन, प्रमुख सललाहकार एवं पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, एनआरएन युके अध्यक्ष सुनिलबाबु खड्काले प्रथम पुरस्कार १५ सय पाउण्डको चेक हस्तान्तरण गरे ।
उपविजेता हिमालयन क्रिकेट टीमलाई पोखरेली मञ्च सल्लाहकार एवं याक एण्ड यतीका संचालक शेरा गुरुङले सिल्भर मेडलले सम्मान गरे भने नगद ७ सय पाउण्ड पिपल मरगेजका डाइरेक्टर सूर्य गुरुङले हस्तान्तरण गरे ।
प्रतियोगिता अवसरमा नेपाली खाना, बिबिक्यु र राफल ड्र समेत भएको थियो । कार्यक्रम जीवन गुरुङले संचालन गरेका थिए ।