पोखरा । ६ गोर्खा राईफल्सको 'स्मारक समर्पण उत्सव' शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम ब्रिटिस क्याम्प पोखरामा आयोजना गरिएको हो । कार्यक्रममा पाँच सय जनाको हाराहारीमा सहभागी थिए । जसमा ६ गोर्खाका नेपालस्थित रेजिमेन्टल एसोसिएसनको सक्रियता रह्यो । पहिलो चरणको कार्यक्रम गोर्खा मेमोरियल म्युजियमको प्रांगनमा भएको थियो । ६ गोर्खा रेजिमेन्टल ऐसोसिएसन (रान) नेपालका उपाध्यक्ष तथा कोर्डिनेटर ले. रि. पूर्णबहादुर गुरुङले उपस्थित सबैलाई सरल भाषामा स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी गर्दै औपचारिक कार्यक्रम सुरुआत भएको थियो ।
६ गोर्खा रानका अध्यक्ष ब्रिगिडिएर जे एन्डरसन ओबीईले स्वागत भाषण गर्दै मेमोरियल सबैको लागि बनाएको बताए । उनले भने, 'केवल नोकरी गरेका जवानहरुका लागिमात्र होइन । उनीहरुको परिवार, बालबच्चा नेपाल र यूकेका लागि हो । मेमोरियलबाट दुई देश बीचको सम्बन्धलाई झल्काउँदछ ।' प्रोजेक्ट सफल गरेकोमा खुसी ब्यक्त गर्दै उनले मेजर गोपाल, ले. पूर्ण, जोन मेकेन्लि, माईक च्यानिङ्ग, धर्मराज, माईक अल्डर, मे. यामबहादुर गुरुङ, अन्य टिमका सहयोगीहरु र चन्दादाताहरुलाई धन्यवाद दिए ।
६ गोर्खाका सदस्यहरु बेलायत र नेपालमा रहेका सबै मिलेर बिलाउँदै गएको पल्टने इतिहासलाई जिवन्त राख्न ठोस स्मारकको अवधारणा २०१७ सालमा बनेको थियो । तर निश्चित स्थान र के गर्ने भन्नेबारे निर्णयमा पुग्न निकै वर्ष कुर्नु परेको मेजर गोपाल गुरुङ एमबीईले बताए । उनका अनुसार अन्तत गोर्खा मेमोरियल म्यूजियममा नै जग्गा पाउने भएपछि स्मारक बनाउने निधो भएको हो । मेमोरियलको अवधारणा बनाउनेमा लेप्टिनेन्ट कर्णेल जोन मेकिन्लिको ठूलो योगदान रहेको मेजर गुरुङ एमबीईले बताए ।
ब्रिगिडियल एन्डरसनबाट मेमोरियल उद्घाटन
रान युके र रान नेपाल अध्यक्षद्वय ले.क. डनकन ब्रिग्स र मे. चन्द्रबहादुर गुरुङ एमभीओले संयुक्तरुपमा स्मरण प्रार्थना गरे । धर्म गुरुहरुबाट समर्पण आशीर्वाद वाचन भयो । सबैभन्दा उमेरले जेठो बलमान गुरुङ एमएमबाट मेमोरियलमा फूलको गुच्छा चढाउने कार्य सुरु भयो। क्रमशः उपस्थित सबैले फूल चढाए । ८९ वर्षीया चीजकुमारी गुरूङ पनि फूल चढाउन सहभागी थिइन् । उनी स्व. गणेशबहादुर गुरुङ २११३६९९२ का श्रीमती हुन् । त्यसपछि बिगुलरको लाष्ट पोष्ट र रिभालीमा दुई मिनेट मौनधारण भयो ।
दोस्रो चरणको कार्यक्रम भने क्याम्पभित्रको चौर र चौतारा वरिपरि भएको थियो । रान युकेका अध्यक्ष ले.क. ब्रिग्सले छोटो वक्तब्य दिँदै नेपालको रानलाई धन्यवाद दिए । 'मेमोरियलले ६ गोर्खाको १७७ वर्ष सेवाको प्रतिबिम्व गर्दछ' उनले भने । ले. क. मेकेन्लिको अनुपस्थिति भएकोले माईक च्यानिङ्गले मेमोरियलको अवधारणाबारे धेरै बोलेका थिए । मेमोरियल सेतो ग्रेनाइट ढुंगाबाट बनाएको छ। ढुंगामा यस प्रकारले अक्षरहरु कुदेका छन् ।
1817-1994
६ गोर्खा राइफल्सका सकल दर्जा तथा उहाँहरुको परिवारमा समर्पित
बिर्सने छैनौं हामी तिम्रो वीरता, साहस र बलिदान
LET THEIR DEEDS NOT BE FORGOTTEN
दुवै साइडमा सेना पोसाक लगाएको नक्सा कुदिएको छ । बायाँमा १९१५ सालको राईफलम्यान र दाहिनेमा १९७५ साल बकिङ्गहाम दरबारमा गार्ड गरेको राईफलम्यानको नक्सा छन् । 'यो लेख र नक्साले ६ गोर्खाको १७७ वर्ष सेवा गरेको इतिहास देखिन्छ,' माईकले भने ।
मे. गोपालले मेमोरियल कसरी सुरु भएर सफल भयो भन्नेबारे विस्तृतमा बताएका थिए । मेमोरियलको मूर्तिकलाबारे मे. टिकेन्द्र दल देवान जेपीले सुरुमा सम्बन्धित ठाउँको पहिचान गरिदिएको बताए । उनले मेकेन्लिलाई विशेष धन्यवाद दिए ।
चन्दा उठाउनका लागि नेपालमा पूर्ण र युकेमा टिकेन्द्रले गरेको सहयोगका लागि पनि उलने धन्यवाद व्यक्त गरे । ले. पूर्णलाई उपस्थित सबैले मेजर गोपालको अनुरोधमा तालीबाट धन्यवाद ज्ञापन गरे । ले. पूर्णको पहलमा धेरै चन्दा उठेको थियो । नेपाली रुपैयाँ ३० हजारभन्दा बढी चन्दा दिनेलाई मायाको चिनो दिने प्रावधन राखिएकाले धेरै रकम उठेको पूर्ण बताउँछन् । उक्त दिन मेजर गोपालको हातबाट मायाको चिनो बाँडिएको थियो । गोर्खा मेमोरियल म्युजियमलाई पनि ६ गोर्खाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
रान नेपालका अध्यक्ष मे. चन्द्रले युके, नेपालबाट उपस्थित सबै सदस्यहरु, पाहुनाहरु र विशेष लेजन्ट जेपी क्रसलाई धन्यवाद दिएर कार्यक्रय समापन गरेका थिए ।
तस्बिरहरु : मिलन तमु