टोनब्रिज, बेलायत, १७ अक्टोबर २०२६ । नेपाली समाज टोनब्रिजले आयोजना गरेको दशैँ शुभकामना साँझबाट नेपालका बाढीपीडित तथा प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगार्थ ७ हजार ५०० पाउन्ड संकलन भएको छ। करिब दुई सय जनाको सहभागिता रहेको कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनसँगै मातृभूमिमा विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने भावनालाई प्राथमिकता दिइएको थियो।
समाजका अध्यक्ष याम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकले भोग्नुपरेको पीडालाई स्मरण गर्दै यस वर्षको दशैँ पूर्ण उल्लासका साथ मनाउन नसकिए पनि पीडितप्रतिको ऐक्यबद्धता र सहयोगको उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको शुरुवात समाजका ज्येष्ठ नागरिक तथा सल्लाहकार बखत सिंह राना, निवर्तमान अध्यक्ष तथा महासचिव भेष थापा, अध्यक्ष याम गुरुङ र प्रमुख अतिथि गीता शाहीले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए। समाजका वरिष्ठ उपाध्यक्ष तारा राना कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा टोनब्रिज नेप्लिज लेडिज कम्युनिटीकी अध्यक्ष गीता शाही प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। गीता शाही र उनका श्रीमान् रामचन्द्र शाहीले सञ्चालन गर्दै आएको न्यूज प्लस दोकानका तर्फबाट नेपालका बाढीपीडितको सहयोगार्थ ५०५ पाउन्ड प्रदान गरिएको थियो। त्यसैगरी, नेपाली कम्युनिटी टोनब्रिजबाट पाँच लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको जनाइएको छ।
समाजका महासचिव ज्योति गुरुङले गोर्खा मिडियालाई दिएको जानकारीअनुसार कार्यक्रममा कुल ७ हजार ५०० पाउन्ड संकलन भएको हो। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने तयारी गरिएको छ। हाल नेपाल बिदामा रहेका समाजका उपाध्यक्ष नूतन सिरिस थापा, पूर्व उपाध्यक्ष प्रेम सिंह राना तथा नेपाली महिला समुदाय टोनब्रिजकी संस्थापक अध्यक्ष शीला रानामार्फत उक्त रकम सम्बन्धित निकायसम्म पुर्याइने जनाइएको छ।
कार्यक्रमको सांगीतिक आकर्षणका रूपमा बेलायत भ्रमणमा रहेका चर्चित नेपाली गायक दुर्गा गुरुङ ‘कौडा किङ’ले प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो। स्थानीय बालबालिका तथा युवायुवतीले पनि नृत्य, गायन र विभिन्न मनोरञ्जनात्मक खेलमार्फत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। विविध सांस्कृतिक प्रस्तुतिले बेलायतमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको थियो।
समाजका महासचिव ज्योति गुरुङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए। कार्यक्रमको समापन गर्दै अध्यक्ष याम गुरुङले प्रमुख अतिथि, अतिथिगण, सल्लाहकार, प्रायोजक, कलाकार, स्वयंसेवक तथा सहभागी सबैप्रति आभार व्यक्त गरे। उनले उपस्थित सबैलाई विजयादशमीको शुभकामना पनि दिए।
कार्यक्रममा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै नेपालमा रहेका बाढीपीडितलाई सहयोग पुर्याउने उद्देश्यले संकलित रकम यथाशीघ्र सम्बन्धित निकायमा हस्तान्तरण गरिने जानकारी दिँदै आयोजकले सहयोग तथा सहकार्यका लागि सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
