लन्डन । तमु धीं यूकेले फ्लाई एभरेस्ट होलिडेज प्रालिसँग सम्बन्धित बाढीबाट प्रभावित सात परिवारलाई जनही १ लाख रुपैयाँका दरले ७ लाख रुपैयाँ नगद राहत प्रदान गरेको छ ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा तमु धीँ यूकेका अध्यक्ष जुमकाजी गुरुङले पीडित परिवारका प्रतिनिधिलाई राहत रकम हस्तान्तरण गरेको हो ।
बाढीपीडित परिवारलाई सहयोग गर्न पञ्चासे हर्पनडाँडा समाज यूकेका अध्यक्ष देउकाजी गुरुङ, कोषाध्यक्ष कृष्ण घले र महासचिव प्रकाश गुरुङको नेतृत्वमा संकलित १३ लाख रुपैयाँ तमु धीं यूकेको राहत कोषमा जम्मा गरिएको थियो । उक्त रकमबाट सात परिवारलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग गर्न आग्रह गरिएको थियो ।
यसैगरी, सुष्मा गुरुङको अगुवाइमा कैलाश यात्रा टिम २०२४ ले पनि सातै परिवारलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग गर्न तमु धीं यूकेलाई अनुरोध गरेको थियो । दुवै पक्षबाट प्राप्त सहयोगमा तमु धीं यूकेले आफ्नो तर्फबाट थप जनही २५ हजार रुपैयाँ प्रदान गरेपछि प्रत्येक परिवारले १ लाख रुपैयाँ राहत पाएका हुन् ।
राहत प्राप्त गर्ने परिवारमध्ये गोकुल बुढाथोकी मगरको श्रीमती स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि उनका छोरा नविन मगर प्रतिनिधिका रूपमा सहभागी भएका थिए । कुमार बुढाथोकी मगरको श्रीमती सिर्जना मगर, प्रेम कुमार बुढाथोकी मगरको श्रीमती मुना मगर, इन्द्रबहादुर खत्रीको श्रीमती उषा खत्री, रामबहादुर मगरको श्रीमती सानुमाया महर्जन मगर र धनबहादुर गुरुङको श्रीमती सन्जु गुरुङ राहत लिन उपस्थित भएका थिए ।

त्यस्तै, बालकुमार मरान्ची मगरको श्रीमती उपस्थित हुन सक्ने अवस्थामा भएकाले उनका भाइ अमर मगर प्रतिनिधिका रूपमा कार्यक्रममा सहभागी भएको थियो ।
‘विपत्तिमा सम्झिएर सहयोग गरेकोमा आभारी छौं’
कार्यक्रममा फ्लाई एभरेस्ट होलिडेज प्रालिका दुवै टुर म्यानेजर कटाक तामाङ र सुशील जोशीको उपस्थित थियो ।
कार्यक्रमपछि गोर्खा मिडियासँग कुरा गर्दै टुर म्यानेजर कटाक तामाङले आफूहरूलाई आपत् विपत् परेको समयमा बेलायतमा रहेका नेपाली समुदाय तथा शुभेच्छुकहरूले सम्झिएर सहयोग गरेकोमा तमु धीं यूकेलगायत सहयोगमा जोडिएका सबैप्रति आभार व्यक्त गरे ।
तामाङले तमु धीं यूके, पञ्चासे हर्पनडाँडा समाज यूके तथा कैलाश यात्रा २०२४ सँग सम्बन्धित सम्पूर्ण सहभागी, सहयोगी तथा शुभेच्छुकलाई विशेष धन्यवाद दिए । कठिन परिस्थितिमा बेलायतस्थित नेपाली समुदायले देखाएको सद्भाव र सहयोग आफूहरूका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
फ्लाई एभरेस्ट होलिडेज र तमु धीं यूकेबीच सहयोगको वातावरण निर्माण गर्न भूमिका निर्वाह गरेको भन्दै तामाङले प्रकाश गुरुङलाई विशेष धन्यवाद दिए। उहाँले प्रकाश गुरुङले आफूहरू र तमु धीँ यूकेबीच समन्वय गर्ने सेतुको भूमिका निर्वाह गरेको उल्लेख गरे ।

राहत वितरणमा तमु धीं यूकेको प्रतिबद्धता
कार्यक्रम तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङ, आमा प्रमुख कमला देवी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, नेपाल संयोजक विजय गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले बेलायतवासी नेपाली समुदाय विपत्तिमा परेका पीडित परिवारको दुःखमा साथमा रहेको बताए । उहाँले आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै राहत संकलन तथा सहयोगमा सहभागी संस्था, समूह र व्यक्तिहरूप्रति धन्यवाद व्यक्त दिए ।
तमु धीं यूकेको यो सहयोगले बाढीबाट प्रभावित परिवारलाई तत्कालीन आर्थिक आवश्यकतामा केही राहत पुग्ने अपेक्षा गरिएको छ । राहत संकलनदेखि वितरणसम्म विभिन्न संस्था, समूह र व्यक्तिको सहकार्यले विपद्को समयमा सामुदायिक एकता र सहयोगको भावना थप मजबुत बनाएको सहभागीले बताएका छन् ।