लन्डन । नेपाली महिलाको सांस्कृतिक पर्व तीजलाई मानवीय सेवासँग जोड्दै नेप्लिज लेडिज कम्युनिटी लन्डन, बरो अफ हाउन्स्लो (NLCH London) ले आयोजना गरेको ‘Teej 2026 Charity for Nepal’ कार्यक्रमबाट बाढीपीडितका लागि कुल २ हजार ४२६ पाउन्ड संकलन भएको छ।
गत २९ अगस्टमा फेल्थाम एसेम्बली हलमा सम्पन्न कार्यक्रममा २ हजार २६ पाउन्ड संकलन भएको थियो भने च्यारिटी र्याफलबाट थप ४ सय १ पाउन्ड संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रमबाट संकलित २ हजार २६ पाउन्ड रकम ७ सेप्टेम्बरमा प्रधानमन्त्री राहत कोषमा पठाइएको आयोजकले जनाएको छ। त्यस्तै, च्यारिटी र्याफलबाट संकलित ४ सय १ पाउन्ड बाढी प्रभावित परिवारका लागि आवश्यक सहयोगमा परिचालन गर्न काठमाडौंस्थित NLCH London की शुभेच्छुक अञ्जना गुरुङलाई पठाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै NLCH London की अध्यक्ष प्रभा खापुङले यस वर्षको तीजलाई विपद्मा परेका नेपाली नागरिकप्रति सहयोग, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्ने अवसरका रूपमा मनाइएको बताइन्। तीजको खुसीलाई मानवीय सेवासँग जोड्दै उनले देशका लागि एक ठाउँमा उभिन र मानवताको सेवामा सीमा तथा जातभन्दा माथि उठ्न आह्वान गरिन्।
विभिन्न समुदायबाट प्राप्त प्रेम, सद्भाव र अतुलनीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अध्यक्ष खापुङले मानवताको सेवा कुनै सीमा, जात वा भूगोलमा सीमित नहुने बताइन्। सानो प्रयासले पनि प्रभावित परिवारलाई राहत, आशा र पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्दै उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा बाढीपीडित नागरिक तथा पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका १० जना पर्वतारोहीको सम्झनामा ‘Candle Light Vigil’ सहित एक मिनेट मौनधारण गरिएको थियो। साथै, मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुष्प अर्पणसमेत गरिएको थियो।
नेपालमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै कार्यक्रमका केही मनोरञ्जनात्मक प्रस्तुति रद्द गरिए पनि राहत अभियानअन्तर्गत च्यारिटी र्याफललाई भने निरन्तरता दिइएको थियो। करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, सहयोगदाता तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
‘Solidarity for Humanity Beyond Borders’ भन्ने मूल भावनासहित सम्पन्न कार्यक्रमले प्रवासमा मनाइने तीजलाई सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको माध्यम बनाउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।
र्याफलको प्रथम पुरस्कारको प्रायोजन सन्तोषी माँ ज्वेलर्स, हाउन्स्लो वेस्टले गरेको थियो। त्यस्तै, पानीको प्रायोजन गोर्खा स्टोर्स, फेल्थामले गरेको थियो भने अन्य र्याफल पुरस्कारहरू मिस्टर गोर्खा क्याटरिङ सर्भिसेज तथा NLCH का कार्यसमिति सदस्यहरूले प्रायोजन गरेका थिए। कार्यक्रममा डिजेको जिम्मेवारी हेमले सम्हालेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष देवीरानी गुरुङले तीजलाई सामुदायिक एकता, सहकार्य र मानवीय संवेदनासँग जोडेर मनाउनुपर्नेमा जोड दिइन्। उनले हालैको बाढीबाट प्रभावित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै तीजको उत्सवलाई पीडित परिवारको राहत र जीवनमा आशा जगाउने उद्देश्यसँग जोडिएको बताइन्।
कार्यक्रममा उपाध्यक्ष सुनिता प्रधानले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुस्मिता कन्दङ्वा र महासचिव ध्रुवी गुरुङले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रम सफल बनाउन खटिएका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू, सहयोगदाता, स्वयंसेवक र सहभागी सबैप्रति अध्यक्ष खापुङ रोजले धन्यवाद व्यक्त गरिन्।
