पसगाउँ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँमा आयोजित १३ औं पसगाउँ महोत्सव सम्पन्न भएको छ ।
माघ २४ गतेदेखि सुरु भएको महोत्सब माघ २५ गते रातीसम्म बिबिध कार्यक्रमका साथ सम्पन्न भएको हो । आयोजक पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङका अनुसार महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै भु.पु. सैनिक संगठन पसगाउँद्वारा निर्मित कोह्म्रे खानेपानी, बिजुली, ट्रष्ट तथा पिकनिक स्पोटको उद्घाटन गरिएको छ । रोसेस गाईज र लालीगुराँस रोधी परिवारद्वारा निर्मित नेम्ये स्युगु रेलिङको समुद्घाटन, कर्म थुक्जे गुम्बा पसगाउँको समुद्घाटन, पसगाउँ–पोखरा संयुक्त युवा आमाहरुद्वारा कलात्मक संस्कृती झल्किने नृत्यहरु प्रस्तुत भएको थियो । चर्चित गुरुङ कलाकारहरुद्वारा मनोरञ्जनात्मक विशेष सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएको थियो । गुरुङ चलचित्रका गायिका उषा गुरुङ, कलाकार गजेन्द्र गुरुङलगायतले साँस्कृतिक प्रस्तुति राखेर मनोरञ्जन दिलाएका थिए । होमस्टेद्वारा पाहुना ब्यबस्थापन र स्थनिय परिकारहरुद्वारा स्वागत सत्कार गरेको थियो ।
कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँ घर भई बेलायत निवासी वरिष्ठ संस्कृतिविद्, गीतकार एवं लेखक एकेन्द्र गुरुङ, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत त्रिलोकन्द्र गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, निवर्तमान अध्यक्ष आश गुरुङ, निवर्तमान उपाध्यक्ष कृष्णबहादुर आले, निवर्तमान सचिव सन्देश पौडेललगायतको उपस्थिति थियो ।
महोत्सबमा पोखरा, बेंसीशहर ,गण्डकी प्रज्ञा प्रतिष्ठान, क्व्होलासोंथर गाउँपालिका भित्रका छिमेकी गाउँहरु सिङदी, तामु, घाम्राङ, कुम्लुङ, भुजुङ, भोजे, चरागाउँलगायतका स्थानीयको पनि उल्लेख्य उपस्थिति थियो ।
विशेष उपस्थितिको रुपमा पसगाउँ–सिङ्दी यु.के. समाजको प्रतिनिधिहरू पाएकाले १३ औं महोत्सबले यसपाली राम्रो सन्देश र निम्तो दिएको देखिएको स्थानीयले बताएका छन् । कोभिड महामारी पछि पुनः ग्रामिण पर्यटनको अभियानले निरन्तरता पाएको छ । स्थानीयका अनुसार यो महोत्सबको सुन्दर पक्ष भनेको गाउँ र पोखराका हरेक बर्गका पसगाउँलेहरु एक ठाउँमा उभिएर महोत्सब सफल बनाउन हातमा हात र साथ मिलाएर हिँडेको पाइनु पक्कै पनि सुन्दर दृष्टि हो । तथापी पनि अझंै सुधार गर्नुपर्ने धेरै रहेको होमस्टे अध्यक्ष गुरुङ बताए ।
गाउँमा आफ्नो भेषभुषा, संस्कृती, झाँकीहरु प्रभावकारी रुपमा अगाडी बढाउने योजना रहेको छ । उनले भने, ‘गाउँमा चाहिएको मुख्य युवा शक्ति न्यून छ । तथापी सहर, देश बिदेशबाट सक्दो सबैको चासो र साथ छ । धेरै साथीहरुले आफ्नो मोबाईलमा हेरेर प्रतिक्रिया जनाउनुभएको छ । यसपालीको पसगाउँ महोत्सबले पहिलो पसगाउँ महोत्सब बि.स. २०६० तिरको जस्तो झल्को दिलाएको छ । सबैजना एकजुट छ भन्ने धेरैको मुखबाट सुनियो । हो हामी अझै चुचुरामा पुग्नु छ, पुर्याउनु छ ।’
समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित पसगाउँ गुरुङ जातिको बाहुल्यता रहेको गाउँ हो । गुरुङ जातिको कला संस्कृति, भेषभूषा र भाषाको संरक्षण र संवद्र्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवं सामाजिक जिवनस्तर उकास्ने ध्येयले महोत्सव आयोजना गरिएको थियो ।