बेलायत । तमु धीं यूकेले नेपालमा हालै परेको विपत बाट प्रभावित नागरिकका लागि राहत सहयोग जुटाउने अभियान अघि बढाएको छ। संस्थाले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली मेला भव्य रूपमा सम्पन्न भएसँगै नेपालमा परेको दुःखलाई सहयोग र एकतामा रूपान्तरण गर्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको हो।
तमु धीं यूकेका उपाध्यक्ष तथा नेपाली मेलाका संयोजक श्री कमल कोने गुरुङले नेपाल विपद्को घडीमा रहेका बेला नेपाली मेलालाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा सीमित नराखी मानवीय सहयोगको माध्यम बनाउने उद्देश्यले राहत संकलन अभियान अघि बढाइएको जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष श्री अरुण गुरुङले हालसम्म संकलन भएको राहत रकमको विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा राहत रकममा थप सहयोग गर्ने घोषणा समेत गरिएको छ। अध्यक्ष श्री जुम काजी गुरुङले £५०५, नेपाली मेला संयोजक तथा उपाध्यक्ष श्री कमल गुरुङले £५००, खेलकुद संयोजक क्याप्टेन दीपक घलेले रू ५० हजार तथा ह्याम्पशायर र सरी इकाईका अध्यक्ष श्री महेन्द्र गुरूगं ज्युले ईकाईका तर्फबाट £१,००० र वकिगं ईकाईका अध्धक्ष शेरकाजी गुरूगं ज्युले ईकाईका तर्फबाट £१,००० र तमु धीं युकेआमा समुहको तर्फबाट £१,००० सहयोग गर्ने घोषणा गरेका थिए ।
यससँगै तमु धीं यूकेले आफ्नो कार्यसमिति, पूर्व अध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरू तथा आजीवन सदस्यहरूबाट समेत थप राहत रकम संकलन गर्ने भएको छ। उक्त राहत संकलन अभियान यही १५ सेप्टेम्बर २०२६ सम्म मात्र गरिने जानकारी वरिष्ठ उपाध्यक्ष श्री पर्शु गुरुङले दिए ।
संस्थाका मिडिया सचिव श्री सबिन कुमार गुरुङज्यूले यसपटक बेलायतमा रहेका विभिन्न मिडिया, स्काई न्युजलगायतका सञ्चारमाध्यमहरूको उपस्थिति रहेको जानकारी दिए । थप्दै गुरुङले यसपटक दुःखको घडीमा हामीसँगै उभिन माननीय इन्दिरा राना मगर, पर्वतारोही मिङ्मा डेभिड शेर्पा, चर्चित गायक राजु लामा तथा चर्चित गायक योगेश्वर अमात्यज्यूहरूको समेत उपस्थिति रहेको बताए ।
समाजका महासचिव डा. विशाल गुरुङको सञ्चालनमा सम्पन्न जुम बैठकको अन्त्यमा १७औँ नेपाली मेला संयोजकले सम्पूर्ण कार्यसमितिको सल्लाह तथा सुझावलाई समेट्दै नेपालका लागि सञ्चालन गरिएको राहत संकलन अभियानमा साथ र सहयोग पुर्याउने सम्पूर्ण सहभागी संस्था, रेस्टुरेन्ट, स्टल तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जुम काजी गुरुङज्यूले नेपालमा परेको विपद्को यस कठिन घडीमा तमु धीं यूकेको कार्यसमिति एकजुट भएर राहत संकलन अभियानलाई अघि बढाउन सफल भएकोमा उनले सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिए ।
नेपाली मेलालाई सफल बनाउन तथा राहत अभियानमा योगदान पुर्याउने सबैप्रति उहाँले भावुक हुँदै विशेष आभार व्यक्त गरेका थिए साथै संस्थाले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।