बर्मिङहाम । बेलायतको किडरमिन्स्टरस्थित ओशो सम्बोधी ध्यान केन्द्र यूकेमा विभिन्न देशबाट आएका करिब ३० जना सन्यासीको सहभागितामा तीनदिने Osho Residential Meditation Retreat सफलतापूर्वक सम्पन्न भएको छ।
शुक्रबार साँझ ५ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म सञ्चालन भएको उक्त आवासीय ध्यान शिविरमा ध्यान, संगीत, नृत्य तथा विभिन्न आध्यात्मिक एवं शारीरिक अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ। शरीरलाई ऊर्जावान् बनाउने, मनलाई शान्त पार्ने तथा आत्मचिन्तन र ध्यानका लागि अनुकूल वातावरण प्रदान गरिएको थियो।
शिविर ओशो सम्बोधी ध्यान केन्द्र यूकेका संस्थापक तथा सञ्चालक स्वामी आनन्द उत्सवको पहलमा आयोजना गरिएको हो। स्वामी उत्सवका अनुसार सन् २०२१ देखि केन्द्रमा निरन्तर रूपमा हरेक महिना ध्यान तथा आवासीय रिट्रिट सञ्चालन हुँदै आएको छ।
उनका अनुसार आफ्नै प्रयासबाट स्थापना गरिएको उक्त कम्युनमा करिब २० जना सन्यासीलाई खाना तथा आवासको निःशुल्क सुविधा समेत उपलब्ध गराउँदै आइएको छ। ध्यान, आध्यात्मिक अभ्यास र सामूहिक जीवनशैलीका माध्यमबाट साधकहरूलाई सहयोग पुर्याउने उद्देश्यले कम्युन सञ्चालन भइरहेको उनले बताए।
यसपटकको आवासीय शिविर स्वामी आनन्द अर्हतको आतिथ्यमा तथा स्वामी आनन्द उत्सव र मा सिमरनको सहजीकरणमा सम्पन्न भएको हो। विभिन्न देशबाट आएका सन्यासी तथा ध्यानप्रेमीहरूको सहभागिताले शिविरलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको आयोजकले जनाएको छ।

बेलायतका विभिन्न शहरमा स्वामी आनन्द अर्हतका ध्यान शिविर
स्वामी आनन्द अर्हत तपोवन, काठमाडौंसँग आबद्ध योग, ध्यान तथा समग्र जीवनशैलीका प्रशिक्षक तथा तपोवनका ट्रष्टी हुन्। उनले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, श्वासप्रश्वास अभ्यास, ध्यान तथा प्राकृतिक जीवनशैलीका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने विषयमा नियमित प्रशिक्षण तथा प्रवचन दिँदै आएका छन्।
हाल बेलायत भ्रमणमा रहेका स्वामी अर्हतले आफ्नो करिब दुई हप्ताको बसाइमा बेलायतका विभिन्न शहरमा ध्यान तथा योगसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन्। उनले डार्टफोर्ड, मिल्टन किन्स, फार्नबोरो, कोल्चेष्टर र ग्लासगोमा एकदिने ध्यान शिविर सञ्चालन गरेका थिए।
त्यसैगरी इन्भरनेसमा चारदिने आवासीय ध्यान शिविर तथा बर्मिङहाममा तीनदिने आवासीय ध्यान शिविर समेत सम्पन्न गरेका छन्। विभिन्न स्थानमा आयोजित शिविरमा ध्यान, श्वासप्रश्वास अभ्यास, मानसिक शान्ति, तनाव व्यवस्थापन तथा समग्र जीवनशैलीका विषयमा प्रशिक्षण र प्रवचन दिइएको थियो।
स्वामी अर्हतले बेलायत बसाइका क्रममा विभिन्न शहरका साधक तथा ध्यानप्रेमीहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै ध्यान र स्वस्थ जीवनशैलीका अभ्यासबारे प्रशिक्षण दिएको आयोजकहरूले बताएका छन्। उनका कार्यक्रमहरूमा विभिन्न पृष्ठभूमिका मानिसहरूको सहभागिता रहेको थियो।
ओशो सम्बोधी ध्यान केन्द्र यूकेले ध्यान, आध्यात्मिक अभ्यास र सामूहिक जीवनशैलीका माध्यमबाट शारीरिक, मानसिक तथा भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले नियमित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

स्वामी आनन्द अर्हतको बेलायत भ्रमणका क्रममा सम्पन्न विभिन्न ध्यान शिविरले नेपाल र बेलायतबीच योग, ध्यान तथा आध्यात्मिक अभ्यासको क्षेत्रमा सम्बन्ध र सहकार्य विस्तार गर्न समेत योगदान पुर्याएको आयोजकहरूको भनाइ छ।
स्वामी अर्हत १८ अगष्टमा आफ्नो बेलायत भ्रमण सम्पन्न गरी नेपाल फर्कने कार्यक्रम रहेको छ।