लन्डन । आनन्द बोधी मेडिटेसन सेन्टर, लन्डनको आयोजनामा गुरु पूर्णिमाको अवसरमा डार्टफोर्डस्थित हिन्दु मन्दिरमा विशेष ध्यान, प्रवचन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बेलायतका विभिन्न सहरबाट आएका करिब ४० जना ओशो सन्न्यासी तथा ध्यान साधकहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि नेपालको तपोवन, काठमाडौँका ध्यान, योग तथा लाइफस्टाइल म्यानेजमेन्ट प्रशिक्षक स्वामी आनन्द आर्हत रहेका थिए । उनी सोही दिन बिहान नेपालबाट लन्डन आइपुगेर कार्यक्रममा सहभागी भए ।
कार्यक्रमको सञ्चालन आनन्द बोधी मेडिटेसन सेन्टरका सञ्चालक इन्जिनियर शंकर ढकालले गरेका थिए । गुरु पूर्णिमाको अवसरमा ओशोका प्रवचन तथा भिडियो सन्देश प्रस्तुत गरिएको थियो । सहभागीहरूले ओशोको यो सन्देशलाई विशेष रूपमा मनन गरेका थिए: “The Master does not want worship. He wants your awakening. Your gratitude is not for the Master’s benefit. It is for your own flowering.”
यस सन्देशले गुरुको भूमिका व्यक्तिपूजाभन्दा माथि उठेर साधकलाई आफ्नै चेतना, आत्मबोध र आन्तरिक रूपान्तरणतर्फ डोर्याउने मार्गदर्शकका रूपमा रहेको ओशोको दृष्टिकोणलाई अभिव्यक्त गरेको कार्यक्रमका सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा स्वामी आनन्द आर्हतले ध्यान, सचेत जीवनशैली र तनावमुक्त जीवनबारे प्रवचन दिएका थिए । त्यसपछि सहभागीहरूले सामूहिक नृत्य तथा ओशो चक्र साउन्ड मेडिटेसन मार्फत ध्यान साधनामा सहभागी भएका थिए ।

ओशो सन्न्यासी स्वामी महेश अधिकारीका अनुसार स्वामी आनन्द आर्हत करिब तीन साताको बेलायत भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा बेलायतका विभिन्न सहरमा ध्यान, सचेत जीवनशैली तथा आवासीय ध्यान शिविर सञ्चालन हुने कार्यक्रम रहेको छ ।
निर्धारित कार्यक्रम:
१ अगस्ट – Stress-Free Living & Awareness Training, स्टानवे कम्युनिटी सेन्टर, कोल्चेस्टर
२ अगस्ट – Stress-Free Living & Awareness Training, ब्रोगटन मिल्टन किन्स
९ अगस्ट – Stress-Free Living & Awareness Training, ग्लास्गो पशुपति मन्दिर
१०–१३ अगस्ट – Osho Residential Meditation Retreat, इन्भरनेस, स्कटल्यान्ड
१४–१६ अगस्ट – Osho Residential Meditation Retreat, किडरमिन्स्टर, इङ्ग्ल्यान्ड
यसअघि स्वामी आनन्द आर्हतले काठमाडौँमा अन्तर्राष्ट्रिय न्यायिक कल्याण दिवसको अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई योग, ध्यान र सचेत जीवनशैलीसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरेका थिए ।
ओशो परम्परामा गुरु पूर्णिमा गुरुको बाह्य पूजा गर्ने अवसरभन्दा पनि आफ्नै चेतनाको विकास, जागरण र ध्यानमार्फत जीवनलाई रूपान्तरण गर्ने प्रेरणाको पर्वका रूपमा लिइन्छ ।
लन्डनमा सम्पन्न यस कार्यक्रमले पनि यही सन्देशलाई केन्द्रमा राख्दै सहभागीहरूलाई आत्मबोध, ध्यान र आन्तरिक स्वतन्त्रताको यात्रातर्फ प्रेरित गरेको आयोजकको विश्वास छ ।