पोखरा । तमु (गुरुङ) जातिको ऐतिहासिक, धार्मिक र सांस्कृतिक आदीम थलो मानिने क्होला सोँप्रे ट्होको अध्ययन तथा अवलोकनका लागि तमु प्ये ल्हु संघ युकेको टोली पोखरा आइपुगेको छ ।
तमु तमु प्ये ल्हु संघ युके टोलीले यही वैशाख ६ देखि ११ गतेसम्म क्होला सोँप्रे ट्होको अध्ययन तथा अवलोकन गर्दै ऐतिहासिकता र अस्तित्वलाई थप उजागर गर्ने उद्देश्य राखेको छ ।
पोखराबाट सुरु हुने यस अध्ययन तथा अवलोकन बेसीशहर, घलेगाउँ र भुजुङ हुँदै क्होला सोँप्रे ट्होसम्म हुने तमु प्ले ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले बताए । अध्ययन तथा अवलोकनमा ५५ जनाको टोली रहेको उनले जानकारी दिए ।
सन् २००० मा क्याम्ब्रिज विश्वविद्यालय र नेपाल पुरातत्व विभागले संयुक्त रूपमा गरेको पहिलो चरणको उत्खननमा यहाँ भेटिएको कोइलाको ‘ल्याब टेस्ट’ गर्दा यो स्थल झन्डै १ हजार ३ सय वर्ष पुरानो भएको तथ्य फेला परेको तमु प्ये ल्हु संघ युकेका सचिव भेग गुरुङले जानकारी दिए ।
इभान एट अलले सन् २००९ मा प्रकाशित गरेको शोधपत्र ‘ग्राउन्डिङ नलेज वाकिङ ल्याण्डः आर्कोलोजिकल रिसर्च एण्ड एथ्नो–हिस्टोरिकल आइडेन्टिटी इन सेन्ट्रल नेपाल’ मा समेत यो क्षेत्रको पुरातात्विक महत्वबारे उल्लेख गरिएको उनले बताए ।
देशको द्वन्द्वकालीन परिस्थितिले पुरा हुन नदिएको क्होला सोँप्रे ट्होको दोस्रो चरणको उत्खनन् कार्यका लागि गत २०८१ वैशाख १४ गते एउटा टोली गएर वैशाख २९ गते फर्किएको थियो ।
अध्ययन तथा अवलोकन टोलीले ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै स्थानीय संस्कार र संस्कृतिका बारेमा समेत जानकारी लिनेछ । क्होला सोंप्रे ट्हो पुगेर त्यहाँको सिमेभुमे, सिल्दोनाल्दो र पितृ–पुर्खाहरूको विशेष पूजा गरी आशीर्वाद लिने योजना रहेको टोलीले बताएको छ ।
तमु समुदायमा मानिसको मृत्युपश्चात गरिने अर्घौंमा समेत मृतात्माले स्वर्गलोकको यात्रा तय गर्दा यही ऐतिहासिक थलो भएर जाने धार्मिक तथा शास्त्रीय मान्यता छ ।
ऐतिहासिक रूपमा यति सम्पन्न क्षेत्र भए पनि यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्य पक्षबाट पर्याप्त पहल नभएकोमा तमु समुदायले चिन्ता व्यक्त गरेको छ । ‘विश्व सम्पदा सूचीमा सूचीकृत गर्न राज्यसँग माग गरिए पनि पछिल्लो समय त्यहाँ निर्मित नयाँ संरचनाका कारण आधार र प्रमाण पुर्याउन कठिन भएको सुनिएको छ’ भन्दै टोलीले यसको संरक्षणका लागि राज्य र सम्बन्धित निकायलाई दबाब दिने बताएको छ ।
प्रकृति र पितृको पूजा गर्ने तमु जातिको पहिचानसँग जोडिएको यो क्षेत्रको दर्शनले मनःशान्ति मिल्ने विश्वास भ्रमणमा सहभागीहरूले व्यक्त गरेका छन् ।
शास्त्रमा वर्णित स्थानहरूको खोज–अनुसन्धान गरी नयाँ पुस्तालाई यसबारे जानकारी गराउनु र ओझेलमा परेका प्राचीन स्थलहरूको प्रवद्र्धन गर्नु यो भ्रमणको मुख्य लक्ष्य छ । भ्रमण पश्चात टोलीले यसको संरक्षण र विकासका लागि प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।
भ्रमण टोली
१. अध्यक्ष, क्या. डेम बहादुर गुरुङ (संयोजक)
२. द्वितिय, उपाध्यक्ष, अमर गुरुङ
३. सचिव, भेग गुरुङ
४. प्रमुख सल्लाहकार, जगत गुरुङ
५. सल्लाहकार, सोम गुरुङ
६. सल्लाहकार, नन्द गुरुङ
७. आमा अध्यक्ष, बबिता गुरुङ
८. ट्रष्टी, पिताम्बर गुरुङ
९. खेगी अध्यक्ष, जीत गुरुङ
१०. सुरक्षा संयोजक, चन्द्र बहादुर गुरुङ
११. पच्यु, बुद्धि गुरुङ
१२. आमा कोषाध्यक्ष, भिमा गुरुङ
१३. आमा सचिव, लक्ष्मी गुरुङ
१४. सुवेदार याम बहादुर गुरुङ
१५. पूर्ण गुरुङ
१६. जगन प्रसाद गुरुङ
१७. कृष्ण बहादुर गुरुङ
१८. प्रकाश गुरुङ
१५. श्रीमती पूर्ण गुरुङ
२०. निम गुरुङ
२१. बबिता गुरुङ
२२. मिलन गुरुङ
२३. अन्जु गुरुङ
२४. सन्ध्या गुरुङ
२५. हितकाजी गुरुङ
२६. रिया गुरुङ