लन्डन । हिन्दु नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) को अवसरमा आयोजित 'अनुग्रह ज्वेलर्स यूके तीज फोटो कन्टेस्ट २०२२' मा कृष्णा राई प्रथम भएकी छन् ।
डाइरेक्टर सुमन राईले ज्वेलर्समा एक कार्यक्रमबीच मंगलबार ३७० लाइक, २७६ कमेन्ट र १८५ सेयर पाउँदै कृष्णा प्रथम भएको घोषणा गरेका हुन् । उनले आकर्षक सुनको चन्द्रमा र १०० पाउन्ड नगद पुरस्कार पाएकी छन् । यस्तै दोस्रो विजेता मुना नाछिरिङ राई बनेकी छन् । २४४ लाइक, २०१ कमेन्ट र १४५ सेयरसहित दोस्रो बनेकी राईले चाँदीको ब्रासलेट र नगद ५० पाउन्डको भौचर पाएकी छन् । २३० लाइक, १२२ कमेन्ट र १२१ सेयरसहित मिकल थापा तेस्रो बनिन् । उनले १० पाउन्ड भौचर र घडी पाइन् ।
चौथो बनेकी बिना श्रेष्ठले १८० लाइक, ६८ कमेन्ट र १८५ सेयर पाएकी थिइन् । उनले पुरस्कारबापत चाँदीको क्वाइन पुरस्कार पाइन् भने पाँचौं स्थानकी विजेता शान्ति गुरुङले १२३ लाइक, ३८ कमेन्ट र २५ सेयर पाएकी थिइन् । उनले चाँदीको टप पुरस्कार पाएकी थिइन् ।
अगस्ट १४ देखि आवेदन खुलाइएको प्रतियोगितामा जम्मा २४ जनाले भाग लिएको डाइरेक्टर राईले बताए । उनले आफू र अनुग्रह टिमको तर्फबाट विजेताहरुलाई बधाइ र ग्राहक तथा शुभचिन्तकलाई धन्यवाद दिए । विजेता घोषणा कार्यक्रममा मुना राई, अजय आलेमगर, एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङलगायत सहभागी थिए ।
विगत ८ वर्षदेखि सेवा प्रवाह गर्दै आएको अनुग्रह ज्वेलर्सले यस बाहेक आइएमइ, फ्लाइट टीकेटिङलगायत सेवा दिने गरेको छ । केही दिनअघि सम्पन्न बृहत् नेपाली मेलामा १ तोला सुन प्रायोजन गरेको अनुग्रहले दिदीबहिनीको प्रोत्साहनका लागि तीज फोटो कन्टेस्ट आयोजना गरेको प्रोपाइटर सुमन राईले बताए । उनका अनुसार निष्पक्ष तरिकाले विजेता घोषणा गरिएको छ ।