लन्डन । बेलायतमा शनिबार भएको ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ प्रतियोगितामा बलर्स स्ल्यामर्स टिम विजेता बनेको छ । लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा शनिबार स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर प्रथम भइ शिल्ड एवं मेडल जितेको हो । स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ । सो अवसरमा करिब तीनसय ३१० जना दर्शक सहभागी थिए ।
तेस्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्न्याचर्सबीच भएको खेलमा वाटरमेलन स्न्याचर्सले ९० अंक ल्याइ तृतीय भयो भने डिबीएसले ६३ अंक प्राप्त गर्यो । महिलातर्फ दुईमात्र टिम ‘म खेल्छु १’ र ‘म खेल्छु २’ बीच भएको मैत्रीपूर्ण खेलमा ‘म खेल्छु २’ ले ४३ अंक ल्याएर जीत हासिल गर्यो भने अर्को टिमले २० स्कोर ल्यायो ।
त्यसैगरी, फाइनल्स् एमभिपी अवार्ड बलर्स स्ल्यामर्सका अनिस तामाङले पाए भने लिग टप स्कोरर साउथ आसफोर्ड वुल्भस्का एमानुयल अगस्टिनो र लिग थ्री प्वाइन्ट लिडर स्यान्डहर्स्ट निक्सका प्रसान राई भए । फाइनल खेलमा अतिथिहरु दूतावासका अट्याची गजेन्द्र राई, हिलिङडनका डेपुटी मेयर शेयार अहमद वेलाना, बार्नेट काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीलगायतले शिल्ड, मेडल र ट्रफी प्रदान गरे ।
नेपाल बास्केटबल यूकेले १७ साता अघि सुरु गरेको लिगमा ८ नेपाली टिम सहभागी थिए । लन्डनको अक्सब्रीज, मेडस्टोन, फेल्थाम, क्याम्बर्ली, जिलिङहम र फोकस्टन केन्ट शहरमा खेल खेलाइएको थियो । बेलायतको नेपाली समुदायमा सन् २००७ देखि बास्केटबल प्रतियोगिता हुने गरे पनि लिग खेलाइएको यो पहिलो भएको आयोजकले जनाएको छ ।
लिग मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई अवसर सिर्जना गरी बास्केटबलमार्फत उनीहरूलाई कुलतमा नलाग्न प्रेरित गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । दर्लामीले कार्यक्रममा सहभागी अतिथीहरुलाई सम्मान पनि गरे । ए स्टारले दोस्रो पुस्तालाई लक्षित गरिएका विभिन्न कार्यक्रममा विगतमा पनि सहयोग गर्दै आएको छ ।