काठमाडौँ । नेपाली सेनाका पूर्वकर्णेल तथा राष्ट्रिय फुटबल प्रशिक्षक मणिन्द्र गुरुङको आज अन्त्येष्टि गरिएको छ । बौद्ध धार्मिक परम्पराअनुसार काठमाडौँको टेकुस्थित घाटमा सैनिक सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
गुरुङको तीन दिनअघि सैनिक अस्पताल छाउनीमा निधन भएको थियो । एक वर्षदेखि बिरामी रहेका गुरुङको उपचारका क्रममा निधन भएको थियो ।
नेपाली फुटबल खेलमा अतुलनीय योगदान दिएका गुरुङको अन्त्येष्टिका अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी दिएका थिए ।

राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ, तमू बौद्ध सेवा समिति नेपालका अध्यक्ष नारायण गुरुङ, क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाजका अध्यक्ष विश्व गुरुङ, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णेल मणिन्द्र गुरुङका सम्धी क्या. लालजंग गुरुङ, आदिवासी जनजाति अगुवा आङकाजी शेर्पा, नेपाली सेना तथा नेपाल प्रहरीका पूर्वउच्च पदस्थ अधिकारी, हिमालय जेटका नेपाल प्रतिनिधि, समाजका प्रतिष्ठित व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नमो बुद्ध सेवा समितिका सदस्य चन्द्रमान गुरुङले स्वर्गीय मणिन्द्र गुरुङको जीवनी वाचन गरेका थिए ।
गुरुङको संक्षिप्त जीवनी
नेपाली सेनाका अवकाश प्राप्त कर्णेल मणिन्द्र गुरुङको जन्म २००६ सालमा भारतको देहरादुनमा बाबा क्या. बृत्तसिंह गुरुङ र आमा विष्णुमाया गुरुङको कोखबाट भएको थियो । पुर्ख्यौली घर कास्कीको तत्कालीन विजयपुर पोखरी गाविस हो । बाबा भारतीय सेनामा सेवारत रहेकाले उनको प्रारम्भिक शिक्षा देहरादुनमा नै भयो । उनले कक्षा ६ सम्म देहरादुनमा पढे ।
त्यसपछि बाबा भारतीय सैनिक सेवाबाट अवकाश भएपछि आफ्नै थातथलोमा फर्किए । पोखराको अमरसिंहचोकमा रहेको सोल्जर्र बोर्ड भोकेशनल ट्रेनिङ हाइस्कुलमा कक्षा ६ मा भर्ना भए । सोही स्कुलबाट २०२३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।
स्नातक (बिए) उत्तीर्ण भएपछि उनी २०३२ सालमा नेपाली सेनाको अधिकृतमा भर्ना भए । सेनामा भर्ती हुनुअघि नै उनी फुटबलको राष्ट्रिय टिममा छनोट भइसकेका थिए । विद्यालय पढ्दादेखि नै उनमा फुटबलप्रतिको लगाव धेरै नै थियो ।

२०२९ देखि २०३१ सालसम्म भने गण्डकी टिमकै नेतृत्व गरे । त्यस्तै, विभिन्न फुटबल प्रतियोगितामा उनले टिमको नेतृत्व गरे । त्यसबेला उनले राज्याभिषेक पदकसमेत हात पारे ।
नेपाली सेनामा पनि उनले फुटबल खेल विकासका लागि नै अधिकांश समय दिए । उनले चीनसँग फुटबल खेल्न सेनाले बनाएको पहिलो फुटबल टिममा रहेर खेल्ने अवसर पाए ।
फुटबलप्रतिको लगावका कारण सेनाले २०४२ सालमा उनलाई प्रशिक्षकको तालिम लिन भारत पठायो । भारतको पटियालास्थित ‘एनआइएस’मा नौ महिना प्रशिक्षक तालिम लिए । त्यसपछि आर्मीको टिमलाई नै प्रशिक्षण दिन थाले ।
२०४३–४४ सालमा बनेको फुटबल टिमलाई उनले कोच गर्ने मौका पाए । त्रिभुवन आर्मी क्लबका खेलाडीहरूलाई रेखदेख गर्ने, प्रशिक्षण दिने र सक्षम खेलाडी बनाउने काममा दत्तचित्त भएर लागे । ३२ वर्षको सैनिक जीवनको १५ वर्षभन्दा बढी समय त्रिभुवन आर्मी क्लबमै योगदान दिए ।
उनी सधैँ १० नम्बरको जर्सीमा खेल्थे । उनले नेपाली फुटबल क्षेत्रलाई विशिष्ट योगदान दिएका छन् । फुटबल क्षेत्रले अत्यन्तै सम्मान गर्ने व्यक्तित्वमध्येमा पर्छन् ।
नेपाली सेनाबाट २०६४ मा अवकाश भए । अवकाश जीवनमा पनि उनी त्यसै बसेनन् । सामाजिक सेवामा उत्तिकै सक्रिय रहे ।
सैनिक जीवनमा जागिर, फुटबल, परिवार र समाजलाई अत्यन्त सन्तुलन मिलाएर अघि बढे । जसका कारण उनका छोराछोरीहरू सक्षम बनेका छन् । छोरी पुनम गुरुङ गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष भइसकेकी छन् । ठूलो छोरा दीपेन्द्र गुरुङ बेलायत व्यवसाय गर्छन् भने कान्छा छोरा जितेन्द्र गुरुङ नेपाली सेनामा मेजर छन् ।

श्रीमती कृष्णा गुरुङले कर्णेल मणिन्द्रलाई हरदम साथ दिँदै घर व्यवहार सकुशल धान्दै आएकी छन् । उनको पाँच दाजुभाइ र तीन दिदीबहिनी छन् । उनले जीवनको उत्तरार्द्धमा ‘म मणिन्द्र’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।
एक सक्षम, कुशल, अनुशासित, समाजसेवी व्यक्तित्व थिए कर्णेल मणिन्द्र गुरुङ । आज उनले संसार छाडेर गएका छन् । तर, उनले देश, समाज र खेल क्षेत्रलाई दिएको योगदान सदा सम्झनामा रहनेछ । शोकको घडीमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवान् बुद्धसँग प्रार्थना ।