पोखरा । नेपाल भ्रमणमा रहेको तमु धीं यूकेको टोली पर्यटकीय गाउँ कास्कीको सिक्लेस पुगेको छ । गाउँहरुको भ्रमणअन्तर्गत तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले पहिलो पाइला बुधबार सिक्लेसमा टेकेको हो ।
सिक्लेस पुग्दा युवा युवा र आमा समूहले तमु धीं यूके र सहारा यूकेका भ्रमण टोलीलाई भव्य स्वागत गरेको थियो । भ्रमणका क्रममा उनीहरुले सबाचोमा गएर प्हच्हु, क्ल्हेप्री र लमबाट आशीर्वाद ग्रहण गरेका थिए । त्यसपछि होटल फर्किएको टोलीलाई गुरुङ जातिमा प्रचलित घाँटु नाच देखाइयो ।
होटलमा भ्रमण टोलीमा सहभागी सबैलाई फेटा, माला र मायाको चिनो दिएर सम्मान गरिएको थियो । घाटु टोलीलाई तमु धीं यूकेले सहयोग गरेको थियो ।
त्यस्तै सिक्लेसको सबभन्दा ठूलो क्वोंइबो र अर्को क्होंइबो अवलोकन गरिएको थियो । साँझ आमा र युवा टोलीको स्वागत नृत्य अनि नाचगान थियो । त्यसक्रममा सहारा यूके र तमु धीं यूकेले ६ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका थिए ।
कार्यक्रम सञ्चालन बेल गुरुङले गरेका थिए भने कला, संस्कृति र अनुपम प्रकृतिका कारण आकर्षक सिक्लेसबारे मिलन गुरुङले बोलेका थिए । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले आफूहरुलाई भव्य स्वागत गरिएको र सिक्लेस गाउँबारे जानकारी दिएकोमा आभार र धन्यवाद प्रकट गरेका थिए । कार्यक्रमा समापन मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ गरेका थिए ।
![Sikles-(12)-1738823845.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(12)-1738823845.jpg)
पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ । वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जोकोहीलाई लोभ्याउने गरेको छ । लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो ।
![Sikles-(7)-1738823832.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(7)-1738823832.jpg)
यातायातका साधन हुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने सिक्लेसमा ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न पाइन्छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशेषता हो ।
गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् । यहाँ जानका लागि काहुँ खोलामा जिप सहज रुपमा नै उपलब्ध हुन्छ । सवारी साधन हुँदै काँहुखोला, ढाडबेंसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ ।
![Sikles-(2)-1738823819.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(2)-1738823819.jpg)
![Sikles-(3)-1738823822.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(3)-1738823822.jpg)
![Sikles-(11)-1738823843.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(11)-1738823843.jpg)
![Sikles-(5)-1738823827.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(5)-1738823827.jpg)
![Sikles-(4)-1738823825.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(4)-1738823825.jpg)
![Sikles-(6)-1738823830.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(6)-1738823830.jpg)
![Sikles-(9)-1738823837.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(9)-1738823837.jpg)
![Sikles-(8)-1738823835.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(8)-1738823835.jpg)
![Sikles-(10)-1738823840.jpg](https://gurkhamedia.com/uploads/posts/Sikles-(10)-1738823840.jpg)