काठमाडौँ । नेपालमा गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ । मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले वृद्धि भएको छ ।
मुलुकको चालु खाता बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ। विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ। ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो ।
समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४१ अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको थियो ।
यसैगरी, गत मंसिर मसान्तसम्ममा ६ अर्ब तीन करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी तीन अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।
पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४२५ रहेको छ ।