तिब्बत। बेलायतबाट आएको शुष्मा गुरुङ नेतृत्व टोलीले कैलाश पर्वत र मानसरोवर यात्रा पूरा गरेको छ । टोलीले सेप्टेम्बर १८ तारिखमा यात्रा पूरा गरेको हो ।
अहिले पनि भ्रमण यात्रा निरन्तर रहेको र ल्हासातर्फ प्रस्थान गरेको टोली प्रमुख गुरुङले जानकारी दिइन् । ११ सेप्टेम्बरमा काठमाडौँबाट प्रस्थान गरेको टोली पहिलो रात घट्टेखोलामा बसेको थियो । १२ सेप्टेम्बर बिहानै रसुवागढी सिमाना पार गरेर केरुङ प्रवेश गरेको थियो । उक्त दिन केरोङको फुन्सक कामस्याङमा बास बसेका थिए । उक्त बेलुका पक्पा मोनस्ट्रीको ठूलो प्रांगणमा हुने नाचगान कार्यक्रममा टोलीका सबै जना झुमेर नाचेका थिए ।
१३ तारीख केरुङबाट १७० कि.मि. यात्रा गरेर साँगा भन्ने सहरमा पुगे। समुन्द्र सतहदेखि ४ हजार ५०० मीटर उचाइमा आइपुग्दा केही यात्रीलाई लेकसमेत लागेको थियो । उक्त दिन बाटोमा गणेश पर्वत, पिक्कु तोस्थेन ताल र ब्रह्मपुत्र नदीको पनि अवलोकन गरेका थिए ।
१४ गते साँगाबाट २८० कि.मि.. पार गरी डार्चेन पुगे। ५ हजार २०० मीटर उचाइको बाटो यात्राका क्रममा केही यात्रीलाई अक्सिजनको कमी भएको थियो । तिब्बतलाई संसारको छाना भनिन्छ । त्यसको पक्का अनुभव यात्रीहरूले गरेका थिए । सयौँ कि.मि.सम्म खुला जमिन, अवादी शून्य, नगण्य रूपमा पशुपालन आदिको दृश्य देख्दा यात्रीहरू एक आपसमा धेरै उत्सुक भएका थिए ।
यात्राका दौरान होटलमा बसेता पनि खानाको बन्दोबस्त काठमाडौँबाट आएका ६ जनाको समूहले गरेका थिए । सागसब्जी र फलफूल नेपालबाट तिब्बत ल्याउन नपाइने रहेछ । अन्य खानाका परिकार नेपालीपनमै आफ्नै नेपाली सेफले दिनहुँ पकाएको खाना पाउँदा टोलीकी सीता गुरुङले खुशी व्यक्त गरिन्।
१५ तारिख सबैका लागि निकै चुनौतीपूर्ण दिन थियो । डार्चेन (४६२० कि.मि.) बाट कैलाश पर्वत कोराका लागि १२ कि.मि. हिँडेर ४ हजार ९५० कि.मि.मा अवस्थित दिरापुक पुग्नुपर्ने थियो । टोलीमा रहेका धेरै जनालाई लेक लागिसकेको थियो । हिड्न नसक्नेका लागि घोडा भाडामा लिन सक्ने प्रावधान थियो । केही यात्रीहरूलाई उनीहरूको स्वास्थ्य स्थिति हेरेर टुर मेनेजरले नै देरापुक नजान अनुरोध गरे।
बिहानै गाडीद्वारा दार्चेनबाट यमद्धार पुगे र त्यहाँ दर्शन गरी पैदल सुरु भयो । कैलाश पर्वत दार्चेन बसेको होटलबाट नै देखिन्थ्यो। पैदल लागेपछि कैलाश पर्वतलाई विभिन्न दिशाबाट फरक फरक रूपमा हेर्न पाउँदा सबै अचम्मित भएका थिए ।
यात्रामा परमस्पर्श र कैलाशको उत्तरी अनुहारको सुनौलो दर्शन गर्न पाउँदा सबै मन्त्रमुग्ध भएका थिए।
२७ जनामा ९ जना यमद्धारबाट फर्किए र एकजना आधा बाटोबाट फर्किएका थिए। २ जना घोडामा चढेर र अन्य १७ जना पैदल यात्राबाट नै देरापुक पुगे । उक्त रात प्राय सबै थकित र अक्सिजनको कमीले धेरै कमजोर देखिएका थिए । भाग्य नै भन्नु पर्छ। प्रत्येक दिन कैलाश खुलेको थियो । सबै जनाले राम्रो दर्शन गर्न पाएका थिए ।
टोलीको यात्राको क्रम देरापुकभन्दा पनि अघि बढ्ने थियो तर चिनियाँ सरकारको तत्कालीन नियमानुसार त्यहाँका स्थानीय बाहेक विदेशीलाई देरपुकबाट माथि जान बन्देज गरेको रहेछ ।
त्यसपछि सबै यात्रीहरू दार्चेन नै फर्किए । जीवनको पहिलो अनुभव शेयर गर्न सबै आतुर देखिन्थे । दार्चेनमै बसेका टोली र देरापुकबाट फर्किएका प्राय सबैले तिर्थपुरी गुम्बाको दर्शन गरी तातो पानीमा गएर केही समय तातोको लाभ लिए ।
१७ तारिख दार्चेनबाट मानसरोबार तालको परिक्रमणका लागि ११ बजे होटलबाट हिँडेका थिए । नयाँ ठाउँहरूको नयाँ अनुभव लिँदै तालको बिच भागको किनारमा गएर स्नान, भजन र ध्यान गरे । दिनभरिको परिक्रमणको क्रममा राक्षस ताल र मानसरोबार ताल बीचको उचाइमा रहेको स्थानमा गई इच्छुक यात्रीहरुले लुङ्दा चढाएका थिए । साँझपख तालको किनारमा रहेको धर्मशाला आइपुगे । पूर्णिमाको दिनलाई केन्द्रित गरी सोही धर्मशालाको प्रांगणमा पण्डित मधुसुधन सत्यालले रुद्राभिषेक र हवनको साथमा विश्व कल्याणका लागि पूजा गरेका थिए।
बेलुकाको भोजनपछि बिहान २ बजे तालको तटमा गएर खुला आकाशबाट तारा खसेको दृश्य हेर्ने निर्णय भयो। आकाश नखुलेपछि तारा खसेको हेर्न बिहान २ बजे गएको टोली सुत्न फर्किए तर केही यात्री भने ताल किनारमा बिहान ३ बजेसम्म कुरेर बसेका थिए ।
१८ तारिख बिहान मानसरोबार ताललाई छोड्दै साँगाका लागि प्रस्थान गरेको थियो । दिनभर बसमा यात्रा गरेर होटल आइपुगेका थिए । डिनरको समय एक जना यात्री लक्ष्मी कुँवरको ३५औँ वर्षगाँठ परेकाले सो अवसरमा फ्लाई एभरेस्ट टुर एन्ड ट्राभलका तर्फबाट केक काटेका थिए र सबैले बधाई शुभकामना दिए ।
प्रत्येक दिनको खाना फ्लाई एभरेस्ट एन्ड टुरका ६ जना टोलीले तयार गरेका थिए ।
टुर मेनेजर कटकबहादुर तामाङ र तिब्बतका टुर गाइड डोल्माले भ्रमण सहज बनाएका थिए । नेपालबाट आएका ६ जना क्याटरिङ टोली १९ तारिख केरुङ हुँदै नेपाल फर्किने र यूकेको भ्रमण टोली भने ल्हासातिर लागेका छन् । साँगाको होटलमा डिनरपछि उक्त टोलीलाई सेवाका लागि धन्यवादसहित यात्रीका तर्फबाट ८१ हजार रुपैयाँ संकलन गरी अध्यक्ष विक्रम भट्टराई र उपाध्यक्ष शुष्मा गुरुङले हस्तान्तरण गरेका थिए । सोही छोटो कार्यक्रममा भट्टराई र मेगबहादुर गुरुङले बोलेका थिए ।
धार्मिक र आध्यात्मिक रहेको भ्रमण टोलीमा यात्रीहरू विभिन्न पेसामा आबद्ध रहेका व्यक्तिहरू रहेका छन् । ७३ वर्षिया यात्री राधादेवी भट्टराईले यमद्धार सम्मको दर्शन गर्न सकेको देख्दा सबैमा आत्मबल बढेको थियो ।