पोखरा । पोखरासहित बुटवल, धरान, नारायणगढ लाहुरेले बसाएको सहर भनी चिनिन्छन् । विगतमा यहाँका जनजाति समुदायको पहिलो आकर्षण ब्रिटिस, सिंगापुर सेनामा थियो । भर्तीका लागि सुरुमा आफूलाई विभिन्न परीक्षामा दर्ज नगरी हत्तपत्त अरु पेसा रोज्दैनथे । भर्ती हुने दर बढ्यो । त्यसैले पोखरा आसपासका हरेक गुरुङ परिवारमा कम्तीमा एक सदस्य ब्रिटिस, सिंगापुर, भारतीय सेनामा भर्ती नभएको घरै हुन्थेनन् ।
पोखरामा लाहुरे संस्कृतिको प्रभावकै कारण यहाँका टोलहरुको नाम समेत त्यस्तै राखिएको छ । जस्तो भिसी मार्ग, सिंगापुर टोल, गोर्खा चोक, शिरमुर लाइन आदि । तर अहिले समय फेरिँदो छ । पहिले जस्तो छैन । पहिलो पुस्ता लाहुरे भयो । दोस्रो पुस्ताका छोरा पनि लाहुरे बने । तेस्रो पुस्ता भने पढ्न चाहन्छ । ज्यानको बाजी थापेर कैंयौं लडाइँ लडेको कहानी सुनाउँदै बाजे पुस्ता नाति पुस्तालाई शिक्षाको महत्व बुझाउन थालेको पाइन्छ ।
पोखरा नदीपुरका २१ वर्षीय कीर्तन गुरुङ यसै वर्ष अष्टेलिया जाने तयारीमा छन् । अघिल्लो वर्ष प्लस टु सकेका उनी बाबुबाजेले रोज्दै आएको लाहुरे बन्ने मोह त्यागेर उच्च शिक्षासँगै सफल भविष्य खोज्न त्यता जान लागेका हुन् । पढाइमा पनि उनी अब्बल छन् । एसइईमा ए प्लस ल्याएका उनले प्लस टु म्यानेज्मेन्टमा राम्रो अंक ल्याएर पूरा गरे । उनी भन्छन्, ‘हाम्रो गुरुङ समुदायमा पहिलेदेखि नै लाहुरे बन्ने चलन हो तर मलाई लाहुरे देखाउन मन लागेन । बरु पढेरै विभिन्न अवसर पाउन सकिन्छ भन्ने सानैदेखि लागेको हो ।’
उनी प्रतिनिधि पात्र हुन् । जो बाबुबाजेको पहिलो रोजाइ चटक्कै माया मारेर पढाइमा केन्द्रित भए । त्यसो त ब्रिटिस तथा सिंगापुरमा बर्सेनि लिने भर्नादर संख्या कम हुँदै गएको छ । प्रतिस्पर्धा झनै कडा छ । अवसर थोरैलाई मिल्छ । शिक्षाको महत्व बढ्दै जानु र लाहुरेमा बढी प्रतिस्पर्धाले विगतमा जस्तो लाहुरे बन्ने मोह घट्दै गएको छ । उनीहरु सुखी जीवनको परिकल्पनामा उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जान चाहन्छन् ।
यो समयको माग हो । पहिला लाहुरे हुने प्रचलन नै थियो । अहिले पनि कोशिस त गर्छन् तर कमैको भाग्य चम्किन्छ । विभिन्न अवसर खोजीसँगै शिक्षाको महत्व बढ्दै जाँदा अधिकांश युवा अचेल कन्सल्टेन्सी धाउने गरेको भेटिन्छन् । प्लस टु सक्ने वित्तिकै उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन् ।
एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका म्यानेजर विष्णु गौतम भन्छन्, ‘नेपालमा दिने शैक्षिक ज्ञानभन्दा विदेशको पढाइले थप शैक्षिक ज्ञान हासिल पनि हुने र पछि त्यही अनुसारको आयआर्जन हुने आशामा प्ल टु, ब्याचरसँगै मास्टर्ससमेत विद्यार्थीको चाप बढेको हो ।’
एक्सपर्टले हाल अष्टेलिया, क्यानडा, अमेरिका, बेलायत र न्युजिल्याण्ड जान चाहनेहरुको लागि सहजीकरण गर्दै आएको छ।
चिप्लेढुंगामा पुष्प रत्न नामक एउटा भवन छ । यो भवनमा मात्रै विदेश पठाउने एक दर्जन कन्सल्टेन्सी सञ्चालित छन् । सबैजसो कन्सल्टेन्सीमा युवापुस्ताको भीडभीड पाइन्छ ।
पोखरामा शैक्षिक परामर्श केन्द्र (इक्यान) सँग ४५ कन्सल्टेन्सी आबद्ध रहेको केन्द्रले जनाएको छ । कम्पनी रजिष्ट्रर्ड कार्यालयमा समेत दर्ता गरी सञ्चालितसहित करिब २ सय ५० कन्सल्टेन्सी सञ्चालित रहेको अनुमान छ ।
तमु एजुकेशनल एण्ड करियर एड्भान्समेन्ट नेटवर्क अध्यक्ष डा. हुम गुरुङ भन्छन्, ‘ब्रिटिस लाहुरेका लागि वर्षमा करिब ९ हजार नेपालीले आवेदन दिन्छन् तर ४ प्रतिशतमात्र सफल हुन्छन् ।’ वातावरणविद् समेत रहेका डा. हुमका अनुसार पहिला जनजातिहरु गुरुङ, मगर, राई, लिम्बुलाई अवसर दिइन्थ्यो अहिले सबै समुदायलाई लिन थालेको र कोटा पनि सरदर ३ सय हाराहारी हुँदा प्रतिस्पर्धा कडा बन्दै गएको हो ।
धरानको ब्रिटिस गोर्खा क्याम्प बन्द भएपछि विसं २०३५ सालबाट पोखरा क्याम्प मात्र भर्ती केन्द्र रहेकाले पोखरा वरिपरिकालाई भर्ती हुन सहज भएको छ । भूपू ब्रिटिस गोर्खाहरुको आन्दोलनका कारण सन् २००४ सालमा गोर्खालीहरुलाई बेलायतमा स्थायी बसोबासको सुविधा दिएको छ । त्यसैले पोखराका धेरै लाहुरेहरु उतैतिर बसाइँ सरे । त्यसबाहेक सिंगापुर लाहुरेहरु केही पोखरामै बसोबास गर्छन् भने केही आफ्ना छोराछोरीलाई अष्ट्रेलिया, अमेरिका, क्यानाडा लगायत विभिन्न मुलुक पठाएर उतै गएर बस्नेहरु पनि छन् ।
लाहुरे बन्नुभन्दा पढेर आफैँ सक्षम बन्नुपर्छ भन्ने ज्ञान जनजाति समुदायमा बिस्तारै बढ्दै गएको डा.गुरुङको भनाइ छ । ‘यो समयको माग हो । पहिला लाहुरे हुने प्रचलित धेरै नै थियो । अहिले पनि कोशिस त गर्छन् तर कम छन्,’ उनी भन्छन्, ‘शिक्षाको महत्व बुझ्दै आएपछि दीर्घकालीन रुपमा यसले अपार सम्भावनाको ढोका खुल्ने गर्दछ भन्ने बुझ्न थाले ।’