लन्डन । तमु समाज युकेले गुरुङहरुको महान् पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) भव्यताका साथ मनाएको छ । विदेशीभूमिमा रहेर पनि सदा झैं उक्त पर्व मनाउनेक्रममा संस्थाले ६ जनवरीमा लन्डनको ह्यारो लेजर सेन्टर, ह्यारोमा सयौं संख्यामा तमुहरु र अतिथिहरुलाई भेला गराई हि ल्हो (बिरालो) वर्गको बिदाइ र मुप्ह्री ल्हो (गिद्ध वर्गको) को आगमनस्वरुप ल्होछार/ल्होसार भरपूर मनोरञ्जनात्मकरुपमा मनाएको हो ।
प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका मेयर काउन्सलर वरलेन ह्याल्टेन, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् सुरुवात गरेका थिए ।
समारोहमा विशेष अतिथि रोयल बरो अफ ग्रीनविचका डिपुटी मेयर काउन्सिलर जित रानाभाट, ब्रेन्ट काउन्सिलका लिडर मोहामद बट, एनआरएनए युकेका अध्यक्षद्वय हित काजी गुरुङ र प्रेम गाहा मगर, आइसीसी सदस्य ले.री. चन्द्र गुरुङ, भूपू गोर्खाका प्रमुखहरु, विभिन्न बरोका काउन्सिलरहरु, बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु, अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूह अध्यक्ष उमा गुरुङ, आमा समूहका पूर्व अध्यक्ष माया गुरुङ र बिन्दु घले, युवा समूह, पत्रकारलगायतको बाक्लो उपस्थिति थियो ।
मेयर ह्यालटोनले गिद्ध वर्गको नयाँ वर्षमा सरिक हुन पाएकोमा खुसी ब्यक्त गरे । उनले यसखालको भेलाले सामुदायिक एकता कायम गर्न मद्दत मिल्ने बताए ।
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले ५ लाखको हाराहारीमा रहेका तमुहरु छुटेर होइन जुटेर आफ्नो सँस्कृति जोगाउनतर्फ लाग्नुपर्ने सुझाव दिए ।
शिवकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संयोजक कमल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको सक्रियतासँगै अति सभ्य र भव्यरुपमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव धरमबल गुरुङले गरेका थिए ।
उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य तथा संयोजक कमल गुरुङले स्वास्थ्य र सुरक्षाबारे अवगत गराए । समारोहमा तमु समाज युके सांस्कृतिक समूहबाट गुरुङ नाच देखाइएको थियो ।
साथै, समाजका नयाँ आजीवन सदस्यलाई संम्मान गरियो । सन् २०२२–०२३ मा उच्चा शिक्षा हासिल गरेका डा. सोफिया बोहोरा, डा. डीना तामाङ, डा. शील्प गुरुङ (पिएचडी), प्रज्जु गुरुङ, जेसन गुरुङ, सन्देश गुरुङ र शुसान गुरुङलाई संम्मान गरिएको थियो ।
समाजको मुखपत्र ‘सलि ट’ लोकर्पण गरिनुका साथै उक्त म्यागेजिनका प्रमुख सम्पादक लेख गुरुङ र टीमलाई पनि संम्मान गरिएको थियो ।
तमु समाज युकेद्वारा निर्माण गरिएको स्वागत भिडियो गीतको पनि सोही अवसरमा रिलिज गरियो । उक्त भिडियोका निर्देशक तथा कोरियोग्राफर सरु राना गुरुङ, गीतकार सूर्य गुरुङ र भिडियोग्राफर सुमन श्रेष्ठ सम्मानित भए ।
यसैबीच, टंकराम गुरुङ र रामचन्द्र गुरुङलाई ‘तमु समाज युके लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२४’ द्वारा सम्मान गरिएको थियो । साथै, सामाजिक कार्यमा उत्कृष्ट योगदान दिएकोमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, ईशा गुरुङ, तमु धीं यूकेका हरि गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्चका कुमार गुरुङ, तमु समाजका हरिमान गुरुङ, जुमबहादुर गुरुङ, लेखनाथ घिमिरे र गोपाल गुरुङलाई पनि सम्मान गरिएको थियो ।
अध्यक्ष शिवकुमार गुरुङले ल्होछार अवसरमा व्यक्तिगत र समाजको तर्फबाट शुभकामना दिए । साथै सम्मानित सबैलाई बधाई तथा अतिथिप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सक्रिय आयोजक टिमलगायत सम्पूर्णलाई धन्यवाद दिए।
सांस्कृतिक कार्यक्रम संचालन समाजका युवा वर्गले अति रोचक शैलीमा संचालन गरेका थिए । ल्होछारको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रम भए तापनि अरु विभिन्न आकर्षित विधा समेटेर सम्पन्न भएको उक्त कार्यक्रम तमुहरुको युकेमा भएको ल्होछार मध्येको एक उत्कृष्ट थियो । गत १ जनवरीमा निधन भएकी चन्द्रदेवी गुरुङको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।