काठमाडौं । नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको छ । यसै अवसरमा उक्त सन्धिमा हस्ताक्षर भएको स्थल सिंहदरबारमा बिहीबार एक समारोह आयोजना भयो।
समारोहमा नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले १०० सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताए । उनले अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रताका लागि र उपनिवेशीकरणविरुद्ध संघर्ष गरिरहेका बेला नेपालले त्यतिबेलाको महाशक्तिसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय भएको बताए ।
२ शताब्दीअघि सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित हुँदा मैत्रीसन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको मन्त्री साउदले बताए । उनले सन्धिको शताब्दीको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको जानकारी दिए ।
बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको बताउँदै उनले बेलायतले अनुदान सहायतामा लामो समयदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको बताए ।
नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै साउदले विगत सय वर्षमा, नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको बताए । नेपाल–बेलायत सम्बन्धले निकै फड्को मारेको बताउँदै मन्त्री साउदले यसले राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिश गोर्खा र जनता–जनताको सम्बन्धका अन्य आयाममा विस्तार गरेको जनाए ।
समारोहमा परराष्ट्र सचिव सेवा लम्सालले सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको बताइन् ।
नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्वपूर्ण भएको बताउँदै उनले बेलायत नेपालको मुख्य विकास साझेदारका रुपमा रहेको बताइन् ।
नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको उल्लेख गरे । उनले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका प्रगतिबाट लाभ लिन सक्नुपर्ने बताए ।
समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सरकारका विशिष्ट श्रेणीका अधिकारी, काठमाडौंस्थित विभिन्न मुुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता थियो।
स्मरणरहोस्, बेलायसँग सन्धिपछि बेलायतले काठमाडौंमा पहिलो राजदूतावास स्थापना गरेको थियो ।