काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचनबाट नयाँ नेतृत्व चुनेको एक महिनाभन्दा बढी भइसक्दा एक समूहले पुनः निर्वाचनको माग गरेको छ ।
एनआरएनए आरके शर्मा समूहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा योजनाबद्ध धाँधली गरेका प्रमाण फेला परेको भन्दै दोषीमाथि कडा कारबाहीको मागसमेत गरे ।
पत्रकार सम्मेलनमा शर्माले भने, ‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु सहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौं तर अहिले पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन । प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन । त्यसैले संसारभरि रहेका लाखौं गैरआवासीय नेपालीहरुको भावनासँग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूहविरुद्ध कडा कारबाही गर्न माग गर्दछौं ।’
उनले महाधिवेशनको ‘म्यान्डेट’ नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरुलाई मान्य नहुने बताए ।
शर्माले उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको र यस सम्बन्धमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिए पनि पछि मतपत्र चेकमा नाममा फरक नभएको देखिएको बताए । तर पछिको स्पष्टिकरणमा सिस्टम ब्याक एण्डमा ‘इन्टिग्रेसन मिस्टेक’ भएको भनिएको यो स्पष्टिकरणले सिस्टमप्रति नै झन् गम्भीर आशंका पैदा गरेको उनको भनाइ छ । सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या बराबर हुनु पर्नेमा फरक फरक भएको उनको दाबी छ ।
सोल्टी होटलको वुथबाट मतदान गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलबाट खसेको मत समान हुनु पर्नेमा फरक भएको उनले बताए । महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भएपछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि नियमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन नियमावलीमा व्यापक परिवर्तन गरिएको उनले बताए ।
यस्तै अनलाइन भोटिङको फेस भेरिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टापछि घटाउनुुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनले बताए । युजर आईडी र पासवर्ड निर्वाचनमा खटिएका कर्मचारीबाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन सक्ने उनले आशंका गरे ।
निर्वाचनमा नेपालको समय राति १२ बजेसम्म जुम माध्यमबाट पनि मतदान गर्ने व्यवस्था गरिए पनि १२ बजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानबाट वञ्चित गरिएको उनको भनाइ छ ।
यसरी योजनाबद्ध धाँधली गरिएका प्रमाण पाइएपछि सोल्टी होटेलमा २० अक्टोबरमा तत्कालीन तीन जना अध्यक्षहरु कुल आचार्य, रविना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको २ साताभित्र छानबिन गर्ने सहमति भएको शर्माले बताए । तर, सहमति उल्लंघन गरेर पूर्व अध्यक्ष बद्री केसीले आफैलाई अध्यक्ष घोषणा गरेकाले त्यसमा आफूहरुको आपत्ति रहेको उनले बताए । संस्थालाई एकताबद्ध बनाउन पुनः निर्वाचन गराउनुको विकल्प नरहेको शर्माले बताए ।
शर्माले अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको रिपोर्ट आफूहरुले आधिकारिक रुपमा नपाएको पनि बताएका छन् ।
एनआरएनएका उपाध्यक्ष गंगाधर गौतमले बद्री केसी समूहले योजनाबद्ध धाँधली गरिएका प्रमाणहरूसहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको तर त्यसमाथि अहिलेसम्म सुनुवाइ नभएको भन्दै आवश्यक परे अदालत जाने बताए । उनले केसी समूहलाई कारबाही गरिने पनि चेतावनी दिए ।
युरोप संयोजक चिन्तामणि सापकोटाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा नै एकलौटी गरिएको आफूले पहिलादेखि उठाउँदै आएको बताए । पछिल्लो विवादबारे परराष्ट्र मन्त्रालयमा निवेदन दिएको पनि जनाए ।
युरोप सहसंयोजक भीमसेन थापाले एनआरएनएको विषयमा सिबीआईको रिपोर्टले पनि धाँधली भएको पुष्टी गरेकाले छानविन गरेर नयाँ तरिकाले अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा महासचिव बुद्धिसागर सुवेदीले जाजरकोट पुगेर भूकम्प प्रभावितलाई राहत वितरण गरिएको बताए । एनआरएनएको टोलीले पहिलो चरणमा २ हजार थान कम्बल, ५ सय थान त्रिपाल, ४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको उनले जानकारी दिए ।
उनले अध्यक्ष शर्माले आउँदो २ वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेको पनि जानकारी दिए ।