लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले नेपाललाई विश्वव्यापी प्रतिभालाई स्वागत गर्ने गन्तव्य राष्ट्र बनाउन आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘नेपालबाट दैनिक झण्डै २ हजार संख्यामा युवाहरु विदेसिरहेका छन्, यो भनेको नेपालका वैज्ञानिक, इन्जिनियर, डाक्टर, कलाकार बाहिरिएका हुन् । तर, म नेपाललाई विश्वव्यापी प्रतिभालाई स्वागत गर्ने गन्तव्य राष्ट्र बनाउन प्रतिबद्ध छ ।’
‘योङ वल्र्ड पोलिटिसियन अफ द इयर’ को अवार्ड जितेकी सांसद गौतमले लन्डनमा आयोजित द वन योङ वल्र्ड समिटलाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन् ।
उनले आफूलाई अवार्डका लागि योग्य ठानेकोमा निर्णायक समितिप्रति धन्यवाद दिँदै उक्त अवार्ड उनले काठमाडौं क्षेत्र नम्बर २ का जनतालाई समर्पित गरिन् । र, भनिन्, ‘म यो अवार्ड काठमाडौं क्षेत्र नम्बर २ का जनतालाई समर्पित गर्दछु । जसले २७ वर्षकी एउटी केटीलाई विश्वास गर्नु भयो ।’
गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा सोविता प्रत्यक्षमा चुनाव जित्ने कान्छी सांसद हुन् । त्यसबेला उनी मात्र २७ वर्षकी थिइन् ।
उनले उक्त अवार्ड आफूले मात्र पाएको नभै नेपालका कुल जनसंख्याको १६ देखि ४० वर्षसम्मका ४० प्रतिशत युवाको प्रतिनिधित्व भएको पनि बताइन् ।
समिटमा सम्बोधनक्रममा उनले नेपालको लागि सबैभन्दा ठूलो एजेन्डा ग्लोबल इस्यु रहेको बताइन् । आफू विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट आएको उल्लेख गर्दै उनले ग्रहहरु, स्रोतहरु, हिमालयहरु, समुद्रहरु र मरुभूमिहरु बचाउन सबैजना लाग्नुपर्नेमा जोड दिइन् । विभिन्न प्रबुद्ध व्यक्तिहरुले भाग लिएको समिट गत २ देखि ५ अक्टोबरसम्म भएको हो ।
अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।
आयोजक युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था वन योङ वल्र्डका अनुसार प्रतिस्पर्धीमध्येबाट सोवितासँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजियान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले गरी ५ जनाले अवार्ड हात पारेका हुन् । आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञलाई यो उपाधि दिने निर्णय गरिएको थियो । संस्थाले यो अवार्ड हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई यो अवार्ड प्रदान गर्छ ।
सोवितालाई भने बिजली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोतसाधन नभएको सरकारी विद्यालयमा पढेकी तथा आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा समेत चिनाइएको छ ।