लन्डन । जुनसुकै नयाँ किसिमको योजना होस् या जति नै महत्वपूर्ण योजना होस् त्यसलाई कार्यान्वयन गर्न या सफल बनाउन उक्त परियोजना क्षेत्रका स्थानीयहरुको सहयोग, सद्भाव र समर्थनको अत्यन्त आवश्यक हुन्छ । यदि त्यसो हुन सकेन भने प्रायः परियोजना असफल हुने निश्चयजस्तै रहन्छ ।
अझै बेलायत जस्तो कुनै पनि नयाँ परियोजनालाई संचालन गर्नुपूर्व अपनाउन पर्ने कानुनी प्रक्रिया, हरेक सम्बद्ध क्षेत्रका विज्ञहरुको अध्ययन र स्थानीयको परियोजना प्रतिको अवधारणालाई प्राथमिकता दिइने देशमा यो विषयमा झनै सजग हुन जरुरी भएकोले नेपाली भिलेज यूकेले आईतबार २६ मार्च २०२३ का दिन परियोजना संचालन गर्नका लागि खरिद गरिएको २४ एकड (लगभग १९० रोपनी) जग्गा भएको बेलायतको वैल्सस्थित आबरभिलेज अनि सानो र सुन्दर टाउन टलीबोन्ट अनस्क (ब्रेकन टाउनबाट ८ माईल) का १२० घर परिवारलाई निमन्त्रणा गरेर परियोजनाको बारेमा विस्तृत जानकारी गराइयो । उक्त अवसरमा आगन्तुक स्थानीयहरुलाई बिहान ११ बजे प्रवेशद्वारमा नेपाली भिलेज युके अंकित खादाबाट स्वागत गरेर सुरु गरिएको कार्यक्रम परियोजना डाइरेक्टर मधु गुरुङले संचालन गरेका थिए भने परियोजनाका प्रमुख मेजर खुसीमान गुरुङ एमभिओले हरेक उपस्थित स्थानीयहरुलाई स्वागत गर्दै परियोजनाका बारेमा पुरै जानकारी दिएका थिए ।
परियोजना तीन चरणमा अगाडि बड्ने, उक्त तीन चरण यसप्रकार रहेको जानकारी दिए ।
पहिलो चरणमा
1, ख़रीद गरिएको २४ एकड़ जग्गालाई तारबार गरेर सुरक्षित गर्ने, प्रसस्त वृक्षारोपण गर्ने, अहिले भएको घरलाई आवश्यक मर्मत गर्ने
2, सबै कुरालाई ध्यानमा राखेर नेपालीशैली झल्काउने मूलद्वार (गेट) बनाउने
3, दुई अलग अलग ठाऊमा ट्वाईलेट, वाथरुम, लोकेशन हेरेर नेपाली स्टाईलको दुई “भान्साघर” बनाईने छ
4 आवश्यकता अनुसार गाड़ी पार्कीङको व्यवस्था गरिने छ ,
5, पहिलो प्लटको ठिक बिचमा चौतारी बन्ने छ जुन पुरै स्थानीय ढुङगाबाट बनाईने छ, यसमा नेपालबाट पिंपल र वरको विरुवा ल्याएर सारिने छ।
6, चौतारी संगै पोखरी हुनेछ
7, एउटा भागलाई क्याम्पिङ एरिया छुट्टाईने छ,जहाँ कमसेकम ५० बाट ८० टेन्टहरु फ़िट हुनेछन ,
8, हाम्रो नेपाली भिलेजमा व्यवस्था हुने पिउने पानी नेपाली कलात्मक ढुङ्गेधाराबाट बग्ने बनाईने छ ।
दोश्रो चरणमा
1, पारम्परिक पिढी सहितको नेपाली घर बनाईने छ, पिढीको एक छेउमा ढिकी राखिने छ भने अर्को छेउमा जाँतो राखिने छ, घर पुरै नेपालको गाँउहरुमा हुने जस्तो बनाईने छ, यही संग्रालय जस्तो घर भित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री ) दुकान हुनेछ,
2. कमसेकम १०० जना को लागी सुविधायुक्त भवन बनाईने छ जसमा योग शिविर ( मेडीटेसन सेन्टर), तालीम अथवा कुनैपनि किसिमका कक्षाहरु संचालन गर्न सकिने छ ,
3. औसत नेपालीहरुका आस्थाका धरोहर ‘काष्ठमाण्डपका दुई नाथहरु’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाईने ।
सम्भव भएसम्म नेपाल र नेपालीको गौरव सगरमाथा लगायत मुख्य हिमालहरुको प्रतिकृति ( रेप्लिका) बनाईने छ
तेश्रो चरणमा
1, पहिलो प्लटमा सम्पुर्ण सुविधा सहितको पुरै ठेट नेपाली रेस्टोरेंट हुनेछ,
2, सम्भाव्यता अध्ययन पछी केही रिटायरमेंट आवासहरु बनाउने सोच पनि रहेको छ।
3, तत्कालीन बजारको माँगलाई मध्यनजर गर्दै सोही अनुसार होमस्टे ( बिएण्डबी) बनाईने छ,
परियोजना प्रमुख मेजर गुरुङले परियोजनाको लागत र स्थानीय काउन्सिलको प्लानिंगले गर्ने निर्णयका आधारमा परियोजनाको बनोट, समयावधि अनि लागतमा तलमाथि हुने कुरा पनि स्पष्ट गराएका थिए । परियोजनाको जानकारीपछि उपस्थित स्थानीयहरुलाई कुनै पनि जिज्ञासा भए राख्न अनुरोध गरिएको थियो । लगभग हरेक उपस्थित स्थानीयहरुले विभिन्न प्रश्नहरुसहित सुझाब, सल्लाह दिँदै यस्तो ऐतिहासिक परियोजना आफ्नो क्षेत्रमा संचालन गर्न लागेकोमा धन्यवाद दिएका थिए ।
उपस्थितहरुमध्ये टलीबन्ट भिलेजका पाका पुराना बासिन्दा ७८ वर्षीय मोर्गनले आफूले जीवनमा धेरै परिवर्तनहरु देखेको भोगेकोले आफ्नो क्षेत्रमा कुनै पनि विकास र सुविधाहरुमा वृद्धि गर्नुछ भने यस्ता परियोजनाहरुलाई खुलेर स्वागत गर्नपर्ने कुरामा जोड दिन सबै उपस्थितलाई आह्वान गरेका थिए जसलाई सम्पूर्ण स्थानीयले गडगडाहट तालीले समर्थन गरेका थिए । त्यस्तै प्रायः सबैले बेलायतको ईतिहासमा गोर्खाहरुको योगदान ऐतिहासिक रहेको कुरालाई कहिल्यै नबिर्सने भन्दै यस्तै अभूतपूर्व परियोजनालाई आफ्नो आफ्नो तह र तप्काबाट सहयोग र सद्भाव रहने कुरामा जोड़ दिएका थिए । अत्यन्त उत्साहित देखिएका स्थानीयहरुले तुरुन्त मुनाफ़ाको अपेक्षा नभए तापनि आफूहरु पनि संलग्न हुन चाहेको कारण परियोजनाले तय गरेको £५००० बराबरको शेयरहरु खरिद गर्न इच्छुक रहेको बताएका थिए ।
१२० स्थानीय परिवारको उपस्थितिसहित दिनको खाना (करी लन्च)को व्यवस्था गरिएको कार्यक्रममा परियोजना प्रमुख मेजर गुरुङले नेपाली नयाँ वर्ष २०८० को पावन अवसर पारेर १४ अप्रैल २०२३ शुक्रबारदेखि दोस्रो चरणको शेयर खोलिने जानकारी पनि गराएका थिए । परियोजनामा पहिलो चरणमा २२७ शेयर बिक्री भइसकेको छ । सोही अवसरमा परियोजना प्रमुख मेजर गुरुङले सम्पूर्ण नेपाली, स्थानीय बासिन्दा तथा आआफ्ना साथीभाइ ईष्टमित्रहररु सबैलाई नयाँ शेयर किन्न अनुरोध पनि गरेका थिए ।
नेपाली भिलेज युकेले यही आउने में महिनाको २१ तारिख़ आइतबारका दिन परियोजनाको पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने जानकारी गराउँदै यसका निमित्त परियोजनाका डाइरेक्टर मानप्रसाद गुरुङको नेतृत्वमा तयारी सुरु गरेको छ ।