लन्डन । बेलायतमा नेपालका प्रथम शहीद लखन थापामगरको १४६ औं स्मृति दिवस मनाइएको छ ।
शनिबार ११ फेब्रुअरि २०२३ का दिन मगर संघ यूकेले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस मगर भवन फार्नबोरो यूकेमा मनाएको हो । मगर संघ यूकेकी अध्यक्ष सीता पुनको सभापतित्वमा भएको कार्यक्रम महासचिव गुमानसिङ्ग थापामगरले संचालन गरेका थिए । कार्यक्रममा १ मिनेट मौनधारण साथै अध्यक्षले दीप प्रज्ज्वलन, खादा, जल र पुष्पगुच्छा अर्पण गरेर सुरुवात भएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन यूके)का अध्यक्ष प्रेम गाहामगर, नेपाल आदिवासी जनजाती महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगर, पूर्वअध्यक्ष मेजर कुल थापा मगर, मगर संघ यूकेको मगर मास्टर एन्ड पीएचडी छात्रवृत्ति नेपालका संयोज कृष्णकुमार आले, यूएचएसबी शाखाका प्रमुख ऋषिराम राना, शाखा सचिव गणेश बुराथोकी, शाखा कोषाध्यक्ष गोप सिंजाली मगर, शाखा महिला प्रमुख र उपाध्यक्ष धना रोका मगर र अन्य सदस्यहरु, उपस्थित बुवा आमाहरु, कार्यसमितिका उपस्थित सदस्यहरु, सल्लाहकारहरु मगर संघ यूके युवा संयोजक अनिल थापामगर, युवा सचिव बिपना थापामगर, युवा सहसचिव मेरिन पाइजामगर, युवा मिडिया पर्सन अमित राम्जाली र उपस्थित सबैले नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा दीप प्रज्ज्वलन गरेका थिए ।
कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष प्रेम गाहामगर, जनजाती महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क रानामगर लगायतले संक्षिप्त भनाइ राखेका थिए ।
मगर संघ यूकेको मगर मास्टर एन्ड पीएचडी छात्रवृत्ति नेपालका संयोजक कृष्णकुमार आलेले लखन थापामगरको नाममा भएका कामहरु साथै लखन थापा प्राथमिक विद्यालयको बारेमा जानकारी गराउनुका साथै मगर संघ यूकेले संचालन गर्ने मगर मास्टर एन्ड पीएचडी छात्रवृत्तिको बारेमा समेत जानकारी दिए थिए ।
कार्यक्रममा संस्थाका सचिव गोमनसिङ्ग पुनले नेपालको प्रथम शहीद लखन थापामगरका बारेमा संक्षिप्त भनाइ राखेका थिए ।
प्रथम शहीद लखन थापामगर संक्षिप्त जिवनी
वि.स. १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार भन्ने गाउँमा जन्म भएको थियो । आफ्नो मातापिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकोले लखन थापामगरको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो । आफ्नो सैन्य सिप र कौशलताले वि.स. १९२५ मा तत्कालीन नेपाली सेनाको क्याम्प्टेन भइसकेका थिए । तत्कालीन राणा शासक जंगबहादुर राणाको अधिनायकवादी जजर, बबर निरङ्कुश हुकुमी शासनले सोझा र निमुखा जनताहरूमा त्राही-त्राहीको अवस्था थियो । जनविद्रोहमार्फत जंगबहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग ल्याउनुपर्छ भनि जनविद्रोहको शंखघोष गर्ने नेपालको राजनीतिक इतिहासमा वि.स. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापामगरको नेतृत्वमा भएको जनविद्रोह नै राणाशासन र शासकविरुद्ध जनस्तरबाट उठेको त्यो नै पहिलो विद्रोह थियो । त्यो ऐतिहासिक जनविद्रोहलाई दबाउन एकतन्त्रीय तानाशाही राणा शासकले वि.स. १९३३ फागुन २ गते एक प्रजातान्त्रिक नायक लखन थापामगरको बर्बर तरिकाबाट हत्या गरेको थियो । यो घटनाले नेपाली समाजमा राजनीतिक चेटनाको दियो बाल्नुको साथसाथै प्रजातान्त्रिक आन्दोलनको बलियो जग बसेकोमा दुईमत छैन ।
ढिलै भए पनि नेपाल सरकारले नेपाल मगर संघको नेतृत्वको लामो प्रयास पछि वि.स. २०५६ सालमा शहीद घोषणा गर्यो भने वि.स. २०७२ साल असोज ३ गते औपचारिकरूपले नेपालको पहिलो शहीदको दर्जा प्रदान गर्ने निर्णय गर्यो । त्यसैले नेपाल आमाको सपूत जसले जंगबहादुरको हुकुमी शासन र बर्बर निरङ्कुशतन्त्रको विरुद्ध प्रथम जनविद्रोहको ज्वारभाता सिर्जना गर्ने प्रथम शहीद लखन थापामगरप्रति मगर संघ यूकेले पनि प्रत्येक वर्ष स्मृति दिवस मनाउने गर्दछ ।