लन्डन । बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री पञ्चराम गुरुङसँग नेपाली समुदायको भेटघाट र अन्तरक्रिया सम्पन्न भएको छ ।
ताङतिङ समाज यूकेका अध्यक्ष, नेपाली जनसम्पर्क समिति यूकेका पूर्वउपसभापति तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तर्कजंग गुरुङको संयोजकत्वमा बिहीबार २२ जनवरी २०२६ मा अल्डरसटको द प्यालेस रेस्टुरेन्टमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका पूर्वमन्त्री पञ्चराम गुरुङसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गण्डकी बोर्डिङ स्कुलको एक्स गण्डकीयनहरुको यूकेका अध्यक्षसमेत रहेका तर्कजंग गुरुङले पूर्वमन्त्री गुरुङलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङले आफूले गरेको स्वागत, सम्मानलाई समाजको तर्फबाटै बुझिदिन आग्रह गरेका थिए । साथै व्यस्तताको बाबजुद समय उपलब्ध गराएकोमा सांसद पञ्चरामलाई अध्यक्ष तर्कजंग धन्यवाद तथा आभार व्यक्त गरे ।

अतिथि एवं सांसद पञ्चराम गुरुङले नेपालमा रहेका नेताहरुले विदेशमा रहेका नेपालीहरुको भावना बुझेर काम गरेरमा देश बन्ने बताए । 'देशप्रति तपाईंको चिन्तन र माया छ भन्ने भेटघाटले प्रस्ट गरेको छ । देशमा बस्ने नेताहरुलाई देश बनाउने सद्बुद्धि पलाओस् । विदेशमा रहेका नेपालीहरुको भावना नेपालमा रहेका नेताहरुले बुझ्न सक्ने हो भने हाम्रो देश बन्छ,' उनले भने, 'देश बनिसकेपछि हामी विदेश घुम्ने होइन, आफ्नै देशमा एकै ठाउँमा बस्ने वातावरण बन्न सक्छ भन्ने मलाई लाग्छ ।'
उनले बेलायतमा तमु धीं यूकेलगायत गुरुङ समाजहरुको उपस्थिति गर्व लाग्ने खालको रहेकोमा खुसी व्यक्त गर्दै गुरुङ जातित्वलाई कहिल्यै हिनताबोध नहुने गरी काम गर्ने प्रतिबद्धता जनाए । 'हाम्रो गुरुङ जातित्वलाई कहिल्यै हिनताबोध नहुने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु,' उनले थपे, 'जनताको दास, नोकर भएर काम गर्न तयार छु ।' बेलायतमा भएका तमु समाजहरु गर्व गर्न खालका रहेको भन्दै उनले खुसी व्यक्त गरे ।
विदेशमा आएर आफ्ना दाजुभाइ, दिदीबहिनीलाई भेट्न पाउँदा आफूल आफैंलाई भाग्यमानी ठानेको भन्द उनले माया र समानका लागि सबैलाई धन्यवाद तथा आभार प्रकट गरे । 'यूके आउँदा आफ्ना दाजुभाई, दिदीबहिनी सबैलाई एकैठाउँमा भेट्ने अवसर पाएँ । भलै हिजोका दिनमा हामी एउटै घर, एउटै थलोबाट छुटेका थियौं होला । समय बित्दै जाँदा हामी विभिन्न ठाउँमा छरिएर रह्यौ । नेपालका विभिन्न ठाउँमा रहँदा भेट्ने अवसर पाएका थिएनौं । तर विदेशी भूमिमा आउँदा विभिन्न ठाउँमा छरिएर रहे पनि एउटै ठाउँमा भेट्न पाउँदा वर्णन गर्ने शब्द नै छैन । आफूले आफैंलाई भाव्यमानी ठानेको छु,' उनको भनाइ थियो, 'यूकेमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनीमा एकदमै आभार प्रकट गर्न चाहन्छु । हरेक ठाउँमा, जहाँ जान्छु त्यहाँ माया र सम्मान एकदमै पाएको छु । त्यसकारण म अझै शक्तिशाली भएको ठानेको छु । यसकारण अझै केही गर्ने अठोट व्यक्त गर्छु ।'
पञ्चरामले नेपाल आउँदा आफूलाई सम्झन र आफूले पनि सहयोग गर्न पाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।
भेटघाट तथा अन्तरक्रियामा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष तथा लम तमु परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके अध्यक्ष तथा सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, तमुधीं यूकेका उपाध्यक्ष तथा बुद्धिष्ट गुम्बा रेडिङका महासचिव कमल गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष ओमप्रकाश गुरुङ, निवर्तमा नअध्यक्ष तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ, तमु धीं यूके र क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका सल्लाहकार शान्त गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।
अन्त्यमा खाना खाएर सबैजना बिदा भएका थिए ।

