पर्वत । मिलन फाउन्डेशन नेपालले कुश्मा नगरपालिका–४ दुर्लुङमा रहेको दालपोखरी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मिलन फाउन्डेसनकी अध्यक्ष गंगाकुमारी गुरुङ हङकङबाट नेपाल आएको अवसरमा ३७ जना बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो । त्यस्तै विद्यालयको भौतिक व्यवस्थापनका लागि केही थान कुर्ची पनि सहयोग गरिएको थियो ।
दुर्लुङकै पुरानो विद्यालयको रुपमा रहेको प्राथमिक तहको उक्त विद्यालयको अवस्था दयनीय रहेको तथा अधिकांश विद्यार्थीहरु कमजोर आर्थिक अवस्थाका रहेका कारण विद्यालयमा सहयोग गरिएको फाउन्डेशनकी अध्यक्ष गंगाकुमारी गुरुङले बताइन् । शैक्षिक सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गर्दै उनले मिलन फाउन्डेशनले शिक्षा, स्वास्थ्य, कृषि, मनोरञ्जनलगायत क्षेत्रमा विभिन्न ठाउँमा सहयोग गर्दै आएको बताइन् ।
कार्यक्रममा बोल्दै मिलन फाउन्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले सामाजिक सेवाको क्षेत्रमा काम गर्न पाउँदा मिलन फाउन्डेशनले सबैको माया पाएको बताइन् । फाउन्डेशनका सदस्य जयप्रसाद गुरुङले बालबालिकाहरु नै देश निर्माणको आधार भएकाले बालबालिकाहरुको वृत्तिविकासमा सबैको ध्यान जानुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धनकुमारी गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, फाउण्डेसनका सदस्य जीवन मल्ल, ममताज गुरुङ, धरमदेवी गुरुङ, बिजय गुरुङ, विजयालक्ष्मी पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश बसेल, सदस्य शान्ती सार्की, ईश्वरी साकी, चण्डी यूवा क्लबका अध्यक्ष दिपेन्द्र सार्की लगायतको उपस्थिति थियो ।
पर्वतकै मोदी गाउँपालिकाको बाजुङमा जन्मिएर हाल हङकङमा रहँदै आएको दुर्गा घोताने गुरुङ ‘मिलन’ले मिलन फाउन्डेशन स्थापना गरेका हुन् ।