काठमाडौँ । नेपालमा सौर्य, वायु र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिने विज्ञले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताले वैकल्पिक ऊर्जाको प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने बताए ।
‘सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदै छ,’ उनले भने, ‘बेलायतको एक अध्ययनले नेपालमा अन्य मुलुकको तुलनामा हाइड्रोजन सस्तोमा उत्पादन गर्ने देखिएको छ । सौर्य, वायु र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।
सरकार र निजी क्षेत्रले हाइड्रोजन ऊर्जामा लगानी बढाउनुपर्ने उनको जोड छ । ‘अब सरकार र अन्य क्षेत्रले यसमा लगानी गर्नुपर्छ । एमोनिया भविष्यको ऊर्जा भएर आउँदैछ । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा यसको अनुसन्धान हुँदै छ,’ उनले भने ।
इप्पानका सदस्य कुवेशमणि नेपालले ‘सोलार पोटेन्सियल एन्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको बताए । घरायसी काममा मात्रै ६० प्रतिशत ऊर्जा खपत हुने गरेको भन्दै यसको विकल्प सौर्य ऊर्जा हुनसक्ने उनको भनाइ छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धक कुशल गुरुङले अर्ग्यानिक फोहोरलाई पोखरामा परीक्षण गरिरहेको बताए । नेपालमा करिब ६० प्रतिशत कुहिने फोहोर निस्किने गरेको र त्यसको २० प्रतिशत मात्रै प्रयोग गर्न सके २५ लाख टन अर्ग्यानिक मल उत्पादन गर्न सकिने गुरुङको भनाइ थियो ।
मुस्ताङमा एक मेगावाटको बिलेट लैजान सकिए एक हजार २०० मेगावाट सौर्य र ९०० वायु ऊर्जा गरी दुई हजार १०० मेगावाट ऊर्जा उत्पादनको सम्भावना अध्ययनले देखाएको उनले जनाए ।
सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपाने उद्योगहरूका छानामा सोलार प्यानल राखेर उद्योगमा स्वच्छ ऊर्जा प्राप्त गर्न सकिने धारणा राखे ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उप निर्देशक डा. लक्ष्मण घिमिरेले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको ठाउँमा केन्द्रले ऊर्जा मिश्रणको काम सुरु गरेको जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सीडीई लक्ष्मी झाले हाल नेपालको ऊर्जा जडित क्षमता तीन हजार मेगावाट पुगेको, विद्युत् चुहावट घट्ने क्रममा रहेको र मन्त्रालयले तय गरेको १३ वटा सूचकको प्रगति राम्रो भएको बताइन् ।
सरकारको नीतिले गर्दा वैकल्पिक ऊर्जाको विकास बिस्तारै हुँदै गएको उनको भनाइ थियो ।