पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ को तयारी तीव्र पारिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पर्यटकीय नगरी पोखरामा हरेक वर्ष हुने यो प्रतियोगिताको नेक्सस भने पोखरामात्र रहँदैन, देशदेशावर पुग्ने गर्छ । गत वर्ष ८ हजार ७ सय धावक पोखरा म्याराथनमा दौडिएका थिए । पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि त यसको चर्चा चुलिएको छ।
आगामी फागुन ५ मा पोखरा रंगशालाबाट सुरु हुने विभिन्न ७ इभेन्टको म्याराथनमा धावकको दर्ता प्रक्रिया जारी छ । देशविदेशबाट उनीहरुले अनलाइनमार्फत दर्ता गरिरहेको आयोजकले जनायो । मञ्चले विभिन्न देशमा प्रचार एवं समन्वयका लागि संयोजक तोकेको छ । जसमा युके समन्वय संयोजकमा महेश गुरुङ छन् । अमेरिका समन्वयमा सोम गुरुङ, अष्टेलिया समन्वयमा चन्द्रप्रकाश गुरुङ, सर्विया समन्वयमा खोपबहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङ संयोजक चुनिएका छन् ।
युकेका च्यारिटी रनरहरुमा मञ्जु गुरुङ, योगेश गुरुङ, पदभ महतो, सन्तोष राई हुन् । तीमध्ये ब्रेस क्यान्सबार पीडित मञ्जु आफू च्यारिटी रनरको रुपमा दौडिएर सामाजिक काम गर्दिछन् । अर्का योगेश पनि सामाजिक कार्यकर्ता हुन् । महतो क्यान्सर पीडितको लागि आर्थिक सहयोग जुटाउँछन् भने राई मल्टिपल ट्रायल म्याराथन रनर हुन् । यसपालि पनि युकेबाट उनीहरु लगायतको टिम पोखरामा म्याराथनमा भाग लिन आउन लागेको युके संयोजक महेश गुरुङ बताउँछन्।
यसैक्रममा आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा शुक्रबार आफ्ना आजीवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागीहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए ।
मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथन प्रविधिमैत्री हुँदै जाँदा केही चुनौती पनि थपिएको बताए । आयोजकले सबैजसो इभेन्टमा चिप्स प्रयोग गर्ने जनाएको छ ।
मञ्चका निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङले कार्यपत्रमार्फत मञ्चको उद्देश्य, लक्ष्यबारे प्रस्ट पारे । उनले पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने । उनका अनुसार मञ्चमा हाल २ सय ६३ आजीवन सदस्य छन् । कार्यक्रममा नयाँ आजीवन सदस्यलाई पोखराका मेयर धनराज आचार्यले प्रमाणपत्र प्रदान गरे ।
मेयर आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफूहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पुगेको उनको भनाइ थियो ।
सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले आर्थिक रुपमा सबल हुँदै थप खर्च गरेर म्याराथनलाई स्तरीय बनाउन सुझाव दिए ।
तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन गुरुङले मञ्चमा आबद्ध सदस्यमध्ये श्रीमानको मृत्यु भए श्रीमती र श्रीमतीको मृत्यु भए श्रीमानलाई मानार्थ सदस्य दिनका लागि पहल गर्न अनुरोध गरे ।
मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजीवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।
म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले स्थापनाकालदेखिका सदस्यलाई समेत देख्न पाउँदा खुसी लागेको बताए । अब मञ्चमा अग्रज खेलाडीमात्र नभई युवा खेलाडीलाई समेत समेट्न आवश्यक रहेको बताए ।
म्याराथनमा खुलातर्फ ४२ दशमलब १९६ किमीको खुला म्याराथन, महिलातर्फ २१ किमीको हाफ म्याराथन, पुरुष/महिला १० किमी, छात्र/छात्रा ५ किमी, महिला पुरुष भेटेरान्स ५ किमी, महिला पुरुषतर्फ ह्विलचियर र दृष्टिविहीन दौड प्रतियोगिता हुनेछ । साथै रन फर फन पनि हुने छ । आयोजकले पुरस्कारको लागि मात्रै १८ लाख १६ हजार खर्चिने मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताए।
तस्बिरः गोर्खा मिडिया