काठमाडौं । गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।
गृह मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा कुल १ सय ५७ जनाको मृत्यु र ३ सय ७५ जना घाइते भएका छन् । घटनाबाट निजी आवासका साथै सरकारी संरचनाहरूमा समेत क्षति पुगेको छ । सामान्य घाइतेहरूको उपचार स्थानीय तथा जिल्ला अस्पतालहरुमा भइरहेको र गम्भीर घाइतेहरूलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगञ्जमा उपचार भइरहेको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधी एवं राहत सामग्री सहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन एवं पीडित परिवारसँग भेटघाट गरेका र उनले सरोकारवाला निकायहरूलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका तर्फबाट सहसचिव÷प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै भूकम्पका कारण मृत्यु हुने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सक सहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा पु¥याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा तयारी अवस्थामा राख्ने, तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लीपिङ, व्याग आदि) सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक केन्द्र तोकी आवश्यकता अनुसार साधनश्रोत परिचालन गर्ने निर्णय गरेको छ । साथै, खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा ५÷५ करोड रुपैयाँ तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थानको विशेष तालिम प्राप्त टोली प्रभावित स्थलमा पठाउने, भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
उक्त बैठकले विपद् व्यवस्थापन कार्यमा सहयोगका लागि मित्रराष्ट्र तथा विदेशी नियोगबाट प्राप्त भएका सद्भावयुक्त प्रस्तावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गरिने निर्णय गरेको छ ।
मानवीय संवेदनाको ख्याल गरी सत्य तथ्य र आधिकारिक सूचना सम्प्रेषण गर्न र प्रदान गरिने सहयोगलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्न समेत सबैमा अनुरोध गरेको छ ।