पोखरा । चिकित्सकमाथि कुटपिट विरोधमा पोखराका चिकित्सकहरुले बुधबार पनि आन्दोलन जारी राखेका छन् । इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेर डाक्टरहरु एप्रोनमै सडक आन्दोलनमा छन् ।
चिप्लेढुंगाबाट बुधबार मह्यान्ह सुरु भएको विरोध प्रदर्शनमा सहभागी चिकित्सकको प्रदर्शन न्युरोड, सभागृहचोक, सिर्जनाचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय कास्कीमा अघि गएर धर्नामा परिणत भएको थियो । उनीहरुले ‘डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर’, ‘शान्तिसुरक्षा कायम गर’, ‘अत्याचार र दमन कहिलेसम्म ?’, ‘दोषीलाई छुटैछुट, डाक्टरमाथि कुटाकुट’ लगायत नाराबाजी गरेका थिए । कालो ब्यानर बोकेका उनीहरुले विभिन्न नाराअंकित प्ले–कार्डसमेत बोकेका थिए ।
मणिपाल शिक्षण अस्पतालमा एक बिरामीको मृत्यु प्रकरणबाट उब्जेको घटनाक्रम पोखरा हुँदै अहिले देशव्यापी बनेको छ । पोखराका ठूला अस्पतालहरु मणिपाल शिक्षण अस्पतालसहित, गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चरक मेमोरियल अस्पताल, फिस्टेल हस्पिटलमा कार्यरत चिकित्सकको आन्दोलनमा नर्स, ल्याबमा आबद्ध स्वास्थ्यकर्मीहरुले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०७९ ( पहिलो संशोधन) अविलम्ब कार्यान्वयन मागसमेत राखेका छन् ।
लमजुङको सुन्दरबजार ७ की ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा सोमबार दिउँसो मणिपालमा मृत्यु भएको थियो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि अघिल्लो दिन अस्पताल भर्ना भएकी उनलाई सोमबार दिउँसो १ः १५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको अकस्मात मृत्यु भएपछि बिरामीका आक्रोशित आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए । जसका कारण अस्पतालका कार्यरत आवासीय चिकित्सक डा. अनिल शाहमाथि हातपात भएको थियो । त्यसैको विरोधमा डाक्टर आन्दोलनमा रहँदा प्रहरी निरीक्षक मदन श्रेष्ठले पनि उल्टै आफूहरुलाई कुटेको चिकित्सकको भनाइ छ ।
कुटपिटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पोखरा ५ मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले मंगलबार ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ ।
उता, मृतकका आफन्तले बुधबार पोखरामा चक्काजाम गरेर विरोध प्रदर्शन गरे । उनीहरुले महेन्द्रपुल, पृथ्वीचोक लगायतमा विरोध प्रदर्शनसहित चक्काजाम गरेका हुन् । बिरामीको मृत्यु हुनुमा ‘सेप्टिक सक’ मुल कारण भएको चिकित्सकको दाबी छ भने आफन्तले चिकित्सकको लापरबाही हो भनेका छन् ।
विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको पटक–पटक वार्ता बिनानिष्कर्ष टुंगिने गरेको छ ।