पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेस विश्वभर चिनिन्छ । गुरुङ समुदायको पहिचान, गुरुहरु घर आफैमा ब्राण्ड हो । तर पछिल्लो समय यो गाउँ छोड्नेको लर्को लागेपछि गाउँ फर्किनुपर्ने पोखरामा बुधबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए ।
गाउँमा विकास पुगे पनि मानिसहरु सहरतिरै झर्ने प्रवृत्तिले गाउँ रित्तो बन्दै जानु आफैमा नराम्रो भएको उनीहरुको गुनासो थियो । गाउँलाई हरभरा बनाउन सके कोही विदेशिन नपर्ने उनीहरुले सुझाए । सिक्लेस र पार्चेबाट पोखरा आई बसोबास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको स्थापना दिवस, ३८ औं वार्षिक साधारणसभा, १३ औं अधिवेशन अवसरमा वक्ताले सो चिन्ता व्यक्त गरेका हुन् ।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ (श्याम) ले कार्यक्रम उद्घाटन गर्दै सिक्लेसीहरुलाई गाउँ फर्कन आव्हान गरे ।
‘पैसामात्र होइन स्वाभिमानका साथ आफ्नो गाउँको विकास, गाउँमै आयआर्जन, युवालाई रोजगार दिनसक्छौं,’ उनले भने, ‘मौलिकता बोकेको गाउँहरुबाट मान्छे पलायनले मौलिकता, पहिचान, भाषा, कला, साँस्कृतिक सबै लोप हुदै जाने भएकाले जनसंख्या एवम जनशक्तिको धेरै महत्व भएकाले तमुहरुले सल्लाह गरौं, गाउँ फर्कौ ।’ उनले आफूले गरेको प्रतिवद्धता सम्झिरहेको, हाललाई कोशेली रुपमा मात्र केही रकम विनियोजन गरेको बताउँदै गाउँको विकास नै पहिलो प्राथमिकता हो भने ।
उनले सिक्लेस, ताङतिङ लगायतका गाँउहरुमा पिच सडक जसरी पनि पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै मादी वडा १ र २ को सिमाको विषय छिट्टै समाधान हुने आश्वासन दिए ।
सो अवसरमा उनले निर्वाचन क्षेत्र, सामाजिक विकास कार्यक्रमअन्तर्गत विनियोजित २० लाख र चिउली पाचे तमु समाजबाट ७ लाख १९ हजार गरी कुल २७ लाख १९ हजार लागतमा निर्मित व्याडमिण्टन कोर्ट ट्रससमेत उद्घाटन गरे।
मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले हालैको जनगणनाअनुसार मादीबाट १० वर्षमा ७ हजारभन्दा बढी जनसंख्या घटेको बताए । उनले योसँगै बजेट पनि घटेको, विद्यालयहरु न्युन विद्यार्थी रहेको, गाउँमा जन्ती, मलामी पनि नपाइने स्थिति भएकोले गाउँ फर्किन आग्रह गरे ।
उनले मादी गाउँपालिकाको गौरवको योजनाबारे जानकारी गराउँदै सेवाग्राहीलाई पोखरामै झरेर पनि नियमित सेवा प्रदान गरिरहेको र वडाअध्यक्षहरुले पनि त्यसरी नै सेवा पु¥याइरहेको बताए ।
गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले गाउँपालिकाले यसै वर्षबाट वडा १ र २ मा मातृभाषा गुरुङ भाषामा पठनपाठन शुरु गर्ने बताइन् । उनले पोखरामा महिनाको अन्तिम हप्ता गाउँपालिकाले नियमित घुम्ती शिविर राख्ने, विदुरभत्ता दिने, पुर्ण अपाङ्गको सुसारेलाई मासिक १ हजार भत्ता दिने, जेष्ठ नागरिक, सुत्केरी, अपाङ्गलाई एकतर्फी वर्षमा ३ पटकसम्म निशुल्क एम्बुलेन्स सेवा दिने, पालिकाका विद्यार्थीहरुलाई पालिका भित्रै १० जोड २ निशुल्क शिक्षा प्रदान लगायतको सेवासुविधा दिने बताइन् ।
तमु धिं नेपालका अध्यक्ष एवं गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङले नेपालमा संघीयताकै कारण चिउली पाचे तमु समाजले पटक पटक योजना, गाउँहरुमा विकास भइरहेको बताए । मुलुकमा संघीयता नआएको भए सबैको पहुँच सिंहदरबारमा पुग्ने थिएन, विकास गाउँमा नपुग्ने भन्दै तमुहरुले पनि राजनीतिक बुझ्ने र नेतृत्व लिनुपर्ने बताए । उनले सिक्लेस गाउँ तमुहरुको शान, मान र पहिचान हो, सिक्लेस इतिहास, वर्तमान र आगामी समयका लागि सबैको उदाहरणीय गाउँका साथ समाज पनि भएको बताए ।
मादी १ का वडाध्यक्ष देवीजंग गुरुङले घरघरमा पुगी र पोखरामा चिउली पार्चे तमु समाजबाट हरेक २ महिनामा नियमित सेवा प्रदान गर्दै आइरहेको बताए । उनले आफ्नो वडाले राजश्व बृद्धि, मृतकहरुको नाममा जम्मा भएको ७० लाख बृद्ध भत्ता नेपाल सरकारलाई फिर्ता पठाएको, मादी १ र २ मा गुरुङ भाषामा पठनपाठनका लागि कार्यपालिकाबाट निर्णय गरिएको जनाए । उनले २ वडा विचको सिमाका बारेमा असमझदारीलाई समझदारीमा पु¥याउने बताए ।
समाजका अध्यक्ष क्या.सम्सेर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खाली रेडियोका स्टेशन मेनेजर खिमा गुरुङ, सल्लाहकार ङ्याए तमु धिं का पुर्व अध्यक्ष जंगबहादुर गुरुङ, खिलाङ गुरुङ समाजका हेमबहादुर गुरुङ, पुरस्कृत विद्यार्थी निशा गुरुङ, सिक्लेस पार्चे समाज युकेका पुर्व अध्यक्ष कोलप्रसाद गुरुङ, आमा समिति अध्यक्ष लोककुमारी गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न शिक्षा अक्षयकोषबाट एसइई उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।
यसरी नै शिक्षा अक्षयकोषका लागि शिक्षिका मनकुमारी गुरुङले १ लाख ५ रुपैया, स्व.खुमाया गुरुङ आमाको स्मृतिमा छोरा गमबहादुर गुरुङ, छोरी खासामाया गुरुङ लगायत परिवारबाट १ लाख ५ रुपैयाँ समाज र आमा समितिलाई सहयोग हस्तान्तरण गरियो ।
उक्त कार्यक्रममा चिउली पाचे तमु समाज आमा समितिले निवर्तमान आमा समिति कर्णेलनी पदमशोभा गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिलाई सम्मान गरेको थियो भने समाजले नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो।
समाजका सचिव एकप्रसाद गुरुङले संचालन र उपाध्यक्ष क्या.लोककृष्ण गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा समाजका कलाकारहरुलाई मौलिक नृत्यहरु प्रस्तुति गरेका थिए ।
अध्यक्षमा दोहोरिए क्या.सम्सेर गुरुङ
चिउली पाचे तमु समाज पोखराको १३ औं अधिवेशनले पुनः क्या.सम्सेर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको उपाध्यक्षमा क्या. लोककृष्ण गुरुङ, सचिवमा सु.कर्णबहादुर गुरुङ, कोषाध्यक्षमा सु.पमबहादुर गुरुङ, सहसचिवमा उमरसुबा गुरुङ, सहकोषाध्यक्षमा मेनसुबा गुरुङ चयन भए ।
सदस्यमा वीरबहादुर गुरुङ, एकप्रसाद गुरुङ, सु. मेजर जितबहादुर गुरुङ, पेउबहदुर गुरुङ, सु. बेलबहादुर गुरुङ, खुशीमान गुरुङ, क्या. फौदासिं गुरुङ, क्या. इमानसिं गुरुङ, मीनबहादुर गुरुङ, सु.खमनबहादुर गुरुङ, ना.सु.खम्बासिं गुरुङ, हुमनसिं गुरुङ र सीता गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक जंगबहादुर गुरुङले बताए ।