आमाबाबा फ्रि युनिभर्सिटी हुन् र अनपेड प्रोफेसर पनि हुन् । प्रसङ्ग सन्तानको उज्ज्वल भविष्य बोकेर विदेश लागेका केही नेपालीको । दुःख गर्न सक्ने, मिहिनेती, इमान्दार नेपालीको पहिचान हो । विदेशीहरुले त्यही भएर होला खुबै मन पराउँछन् । विदेश लागेका पहिलो पुस्तालाई धेरै ठाउँमा उकालो पर्न सक्छ तर करै खपेर पनि काम गरिरहेका हुन्छन् । किनकि एक व्यक्तिमाथि स्वदेशमा कति जनाको मुखमा माड पुर्याउने जिम्मा हुन्छ ।
जेनतेन नानीहरुको भविष्य उज्यालो होस् भनि आमाबाबा दिनरात काममा खट्टिरहेका हुन्छन् । तर नयाँ जेनेरेसनका बच्चाहरुको सोच नयाँ नै छन् । बाबाआमा र छोराछोरी बीचको खाडल ठूलो भएको छ । बुझाईको कमजोरी दुबै पक्षमा गहन भएको देखिन्छ । प्यारेन्स चाहन्छन्, पढाई राम्रो गरोस् । उमेर पुगेपछि आफै सुहाउँदो नेपाली अनि आफ्नै भित्रको बिहे गरोस् । कमाई गरेर प्यारेन्सलाई दिओस् । हुँदैन । व्यवहारमा कमैको मात्र भएको छ। यसमा आमाबाबा न त छोराछोरीकै गल्ती छ। देश छोडेर विदेश लागेपछि कुन ठाउँमा, कस्तो समाजमा गएर बस्दछन् । छोराछोरीको साथीभाइ कस्ता प्रवृत्तिका हुन्छन् । घरमा बच्चाहरुलाई आमाबाबाले कत्तिको समय दिन्छन् । धेरै कुराले असर पार्दछ ।
टाउको दुख्दा सिटामोल खानु राम्रो हो । निको पार्छ । तर नदुख्दा पनि खायो भने के हुन्छ ? विदेशमा हुर्केका नानीहरुलाई टाउको नदुख्दा सिटामोल खाना दिएको जस्तै भइरहेको छ। आमाबाबाले दिएको घरेलु शिक्षा लिन चाहँदैनन् । बिहानै उठ । मुख धोऊ । पूजापाठ गर । राति अबेर नबस । आफन्त आउँदा सत्कार गर । बजार धेरै नडुल । छुट्टीमा पार्टटाइम काम गर । जति भनेका छन् । ठीक उल्टो गर्न चाहन्छन् उनीहरु । कति त कुलतमा फसिसकेका छन् ।
बाबाआमाको एकतर्फी दबाबले बच्चाहरु अटेर गर्दछन् । स्वाभाविक पनि हो । भारत अजाद गरेका महात्मा गान्धीका चार छोराहरु थिए । हरिलाल, मनिलाल, रामदास र देवदास । जेठा छोरा हरिलाल गान्धीले धर्म परिवर्तन (हिन्दुबाट मुसलमान) गरेर बाप्पुको वधनाम गरेका थिए । उनलाई मुसलमान प्रिचरहरुले जे कुरा सुनाएर धर्म परिवर्तन गराएका थिए । बुझेपछि विपरीत पाए । फेरि वैदिक हिन्दु धर्ममा नै फर्किए । संसारकै प्रसिद्ध अहिंसात्मक प्रतिरोधका नेता गान्धीले आफ्नै छोरालाई तह लगाउन सकेनन् ।
जुन देशमा गयो त्यहीकै स्थानीय जातिसँग बिहे गर्ने । संख्या पनि बढिरहेको छ। प्राकृतिक पनि हो । हिजो हाम्रो गाउँघरमा उकाली ओराली गर्दै, मेलापात हिँड्दै, भेटिने साइँली, माइली, सोल्टिनी सोल्टाहरुको अभाव विदेशमा भएपछि विचराहरु के गरोस् । कोही गोरासँग, कोही अफ्रिकन मुलकासँग, कोही ईष्ट युरोपियनसँग सम्बन्ध जोडेका छन् । आमाबाबाको लागि ठूलो अपचको विषय हो । कति परिवार त विस्थापित नै भएका छन् । समाजबाटै टाढिएर बसेका छन् ।
मानव विकासको क्रममा महिला र पुरुषबाट सुरुवात भएर आज सात खालको मानिसमा वर्गीकरण भइसकेका छन् । जसलाई छोटकारीमा LGBTQIA भनिन्छ । (Lesbian, Gay, Bisexual, Transgender, Queer, Intersex, Asexual) यो केवल मानव सभ्यतामा मात्र देखिएको छ । कुनै पशुपंक्षीमा देखिएको छैन । संसारमा सबैभन्दा होसियार रहनु पर्ने नै मानिस भएको छ। हाम्रो नजरबाट देखिने महिला र पुरुष हटाउनु पर्ने भएको छ । ऐयरलाइन्सहरुमा "महिला तथा सज्जनवृन्द" भन्नै शब्द नै बन्देज भैसकेका छन् ।
आधुनिक परिवारहरुले प्राकृतिकरुपमा सन्तान जन्माउनै छाडे । उदाहरणका लागि मिस युनिभर्स १९९४ सुष्मिता सेनले रेणी र अलिसालाई एडप्ट गरेकी छिन् । त्यस्तै बलिउड नायिका शिल्प शेठ्ठीले सरोगेसीबाट शसिमा पालेकी छिन् । प्रसिद्ध ब्रिटिस गायक सर अल्टन जोन गे हुन् । लक्जम्बर्गका प्रधानमन्त्री जेभियर ब्याटल, बेल्जियमका प्रधानमन्त्री इलियो डि रुपो गे हुन् । आइस्ल्यान्डका प्रधानमन्त्री जोना सिगुराडोट्रिर र सर्बियाका प्रधानमन्त्री अन ब्रनबिग लेसबियन हुन् । संसारमा मानव सभ्यताको प्रवेश अनौठो भइसकेको छ विगतको तुलनामा । विवाहबिना, यौन सम्पर्क नगरी पनि सन्तान बनाउन कानुनी मान्यता भइसकेको छ । आमाबाबा भन्ने नातानै धरापमा पुगेको देखिन्छ ।
उथलपुथललाई ग्रहण गर्न सक्ने क्षमता सबैमा हुँदैन । कतिको परिवारभित्र, आधुनिकताले जन्माएको परिवर्तनसँग सहमत हुन नसकेर डिप्रेसनका सिकार भएका छन् । समयले पगालेको बाटोमा खुट्टा राख्दा सहज हुन्छ । कठोर र अटेर पुरानो बानीलाई त्याग्दा जीवन मलिन हुन्छ । छोराछोरी तह लगाउँछु भनेर लन्डन, सिड्नी, न्युयोर्क सहरको हावापानीमा घुलमिल भइसकेकालाई फेरि आफ्नै गाउँघरको आँगनमा नाच्न बाध्य बनाउनु मूर्खतामात्र हो । शिक्षित भइसकेपछि आफ्नो रुट पत्ता लगाउने जिम्मा उनैको हो । बाबाआमाको होइन ।
घर बच्चाहरुको लागि निःशुल्क विश्वविद्यालय हो । र, बाबाआमा अनपेड प्रोफेसर हुन् । त्यसैले हुर्किसकेकालाई नसोद्धै शिक्षा दिन नखोज्नु । अनर्थ हुन्छ । गान्धीको उदाहरणबाट सिक्नुहोला । कुनै दिन खुल्ने दिन आउँछ । छोराछोरी र आमाबाबा बीचको खाडल साम्य हुन्छ । संसारमा देखा परिरहेको परिवर्तनमा बराबर काँडेतार नलगाउनु । आफै फन्दामा पर्न सक्छ । माया गरिरहनु तर भाव पनि नबिर्सनु किनकि माया खोलाको पानीजस्तै जहिले पनि तल बहन्छ । छोराछोरीले माया गरेन भनेर मन नदुखाउनु ।
एक्ले जन्मिएको संसारमा धेरैलाई भेटेर फेरि एक्लै जानुपर्छ । जीवन जिउन जान्नु पर्छ । सजिलोको लागि आध्यात्मिक ज्ञानको खोज बेलैमा गरौं । भलो त्यसैमा छ सबैको ।