रेडिङ तमु समाजको समर बीबीक्यु भव्यरुपमा सम्पन्न

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन । रेडिङ तमु समाजले यस वर्षको समर बीबीक्यु पार्टी भव्यताको साथ सम्पन्न गरेको छ ।

गत १८ जुन शनिबार भेटघाट कार्यक्रम पाकिस्तानी कम्युनिटी हलमा भएको हो । २०१९ मा आएको कोरोनाको महामारीपछि आयोजना भएको कार्यक्रममा बाक्लो संख्यामा सदस्यहरूको उपस्थिति थियो । रेडिङमा स्थायी र अस्थायीरूपमा बसोबास भएका तमुहरूको सुखदुख र हकहितका लागि खोलिएको रेडिङ तमु समाजमा भूपू सैनिक र गैरभूपूका परिवारहरू गरी झण्डै ५०० घरधुरी आजीवन सदस्य छन् ।

झण्डै १३ बजेबाट सुरू भएको औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रूद्रराज गुरूङले गरेका थिए । कार्यक्रम समुद्घाटन अध्यक्ष रूद्रराज गुरूङ, आमा समूहकी अध्यक्ष बिमला गुरूङ र संस्थापक अध्यक्ष प्रेम गुरूङले पानसमा बत्ति बाली अनि नेपाली राष्ट्रिय गान गाएर गरिएको थियो । त्यसपछि कार्यक्रमका संयोजक सनमाया गुरूङले स्वागत मन्तव्य दिएकी थिइन् । संस्थापक अध्यक्ष तथा सल्लाहाकार प्रेम गुरूङले कार्यक्रमको सफलताको शुभकामना तथा सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई सदस्यता वितरण, सदस्यहरूका बालबच्चाहरूले उच्च शिक्षा हासिल गरेकोमा बधाई तथा सम्मान गरिएको थियो । त्यसैगरी अन्य दुई जना सल्लाहकारहरू क्रमश: इन्स्पेक्टर खेम गुरूङ नेपाली-अंग्रेजी डिक्स्नेरी लेखेर बिक्री गरी उठेको रकम समाजलाई नै दिएर ठूलो आर्थिक सहयोग गरेकोमा र संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम गुरूङले समाजका लागि रेडिङ हाफ म्याराथनमा सहभागी भएर च्यारिटी रकम उठाइ ठुलो आर्थिक सहयोग गरेको उनीहरूको योगदानको उच्च कदर गर्दै समाजको तर्फबाट खादा तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

राफल ड्र रमाइलो कार्यक्रम आमा समूहले संचालन गरेका थिए । प्रथम पुरस्कार सुनको ओैठी चाइनिज ओरिन्टल पसलको प्रोपाईटर सल्लाहकार कमल गुरूङले प्रायोजन गरेका थिए । द्वितीय पुरस्कार गोर्खा ग्रोसरीका प्रोप्राईटर गिरी गुरूङले गरेका थिए र साथमा धेरै महानुभावहरूले अन्य धेरै पुरस्कार प्रायोजन गरेको आयोजकले जनाएको छ ।

प्रथम चरणको ‌औपचारिक कार्यक्रम सबै दु:ख र सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद दिँदै अध्यक्षले समापन गरेका थिए भने कार्यक्रम सन्चालन समाजका महासचिव याम गुरूङले गरेका थिए ।

दोस्रो चरणको सांस्कृतिक तथा मनोरन्जनको कार्यक्रम समाजका सांस्कृतिक सचिव झुमप्रसाद गुरूङ र सहसचिव मिनबहादुर गुरूङले संयोजन गरेका थिए । जसमा स्थानीय कलाकारहरू तथा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू लोक तथा दोहोरी गायक रेशम निर्दोष र गायिका अनुपा मगरको बेजोड प्रस्तुति रहेको थियो ।

अन्त्यमा स्थानीय कलाकारहरू र अतिथि कलाकारहरूलाई खादा तथा मायाको चिनो दिएर सम्मान पनि गरिएको थियो । खानपिनतर्फ सबै कार्यसमिति र स्वयंसेवकहरूको सहयोगले मिठो बिबिक्यु, दाल भातका परिकारहरू र सुपथ मूल्यमा पेय पदार्थ उपलब्ध गराइएको थियो । खानापिना र यातायातको व्यवस्था पनि समाजका सल्लाहाकारहरू र सदस्यहरूबाटै प्रायोजन गरिएको थियो ।

स्मरण रहोस्, रेडिङ तमु समाजले समाजको आजीवन सदस्य हुनका लागि २ सय पाउन्ड तिरी सदस्य बन्न सक्नेछन् । त्यस्तै स्योरास्वरूप महिनाको १० पाउन्ड डाइरेक्ट डेबिट गर्नुपर्नेछ । फलस्वरूप कुनै सदस्यको मृत्यु भएमा तमुहरूको चलनबमोजिम परिवारलाई स्योरा स्वरूप तुरून्त २५ सय पाउन्ड आर्थिक सहयोग प्रदान गर्ने गरिरहेको रेडिङ तमु समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.