अगस्ट ६ मा एनआरएनए यूकेको वार्षिक साधारणसभा

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन २२ जुन २०२२ । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले आगामी ६ अगष्टमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेको ठीक १ वर्ष पुगेको दिन साधारणसभा आयोजना गर्न लागिएको हो । वर्तमान कार्यसमिति निर्वाचित भएर गत वर्षको ६ अगष्टमा पुरानो कार्यसमितिबाट पदभार लिएको थियो ।

सामान्यतया यस अगाडिका कार्यसमितिहरुले साधारणसभाको आयोजना गर्ने प्रचलन थिएन । बरु संघ संस्था प्रतिनिधिसभाको मात्र आयोजना गरिन्थ्यो । यस पटक संघ संस्थाका प्रतिनिधिहरुका अलावा गैर आवासीय नेपाली संघका पन्जीकृत सदस्यहरुलाई समेत बोलाएर साधारणसभा (अधिवेशन) आयोजना गर्न लागिएको प्रवक्ता भरतमणि चोङ्गबाङ्गले जानकारी दिए ।

‘कार्यसमिति जहिले पनि संघका सदस्यहरुप्रति उत्तरदायी हुनु पर्दछ अतः हामीले पन्जीकृत सदस्यहरु र बेलायतमा रहेको नेपाली संघ संस्था, व्यापारी बुद्धिजीवीहरु तथा समाजका प्रबृद्ध वर्गलाई राखेर हामी यस अवधिमा गरेका कार्यहरुलाई प्रस्तुत गर्ने तथा आगामी कार्यदिशाका लागि उहाँहरुबाटै सरसल्लाह लिने नीतिअनुरुप साधारणसभाको बोलाएको हौं,’ अध्यक्ष प्रेम गाहा मगरले भने ।

प्रवक्ता चोङ्गबाङ्गका अनुसार साधारणसभामा कार्यसमितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान तथा नीतिगत विषयमा छलफल गरिने छ । अध्यक्ष प्रेम गाहा मगरका अनुसार साधारणसभामा गैर आवासीय नेपालीहरुका सरोकारको विषयहरुमा विज्ञहरुलाई बोलाएर विषयगत छलफल गराइनेछ । यसका लागि गैरआवासीय नेपाली संघ यूकेले आफ्नो तयारी सुरु गरिसकेको अध्यक्ष गाहा मगरले जनाएका छन् ।