ईन्टेक डिसेम्बर १९८७ को नम्बरी भेला सम्पन्न

प्रकाश गुरुङ
 
 
 

लन्डन १८ जुन २०२२ । ईन्टेक डिसेम्बर १९८७ का नम्बरीहरुको ३४औं वार्षिकोत्सव अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ ।

कार्यक्रम इन्टेकका अध्यक्ष मेरि देव गुरुङ (एमभीओ) को संयोजकत्वमा भएको हो । अध्यक्षले “ईन्टेक डिसेम्बर १९८७, ३४औं एनेभर्सरी सेलेब्रेसन” लेखिएको १८ ईन्चको केक सिरुपाते खुकुरीले काट्दै गरेको, कोषाध्यक्ष देउ गुरुङले स्याम्पेन फोरेको र सचिव पदम भुजेलले काउन्टडाउन गर्दै र सबै जनाले जोड्ले ताली लगाएको दृश्य हेर्ने लायकको थियो ।

‘डिसेम्बर १९८७ सालमा जम्मा १२५ जना मात्र ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका थियौं । संख्याको हिसाबले थोरै हो । कम्ती भएर नै हामी एक आपसमा धेरै नजिक छौं । श्रीमतीहरुको पनि आपसमा राम्रो चिनजान छ । त्यसैले हाम्रो भेला जहिले पनि रमाइलो हुन्छ,’ अध्यक्ष गुरुङले गोर्खा मिडियासँग भने ।

कुलबहादुर थापाले महिलाहरुका लागि अनौठो खेल खलाएका थिए । सबैलाई स्टेजमा बोलाए । प्रत्येक महिलाको ब्यागबाट कुलले भनेका सामान पालैपालो देखाउनु पर्ने थियो । सामानहरु क्रमशः बैंक कार्ड, नगद पाउन्ड, श्रीमान्‌को तस्बिर, टीका, टिशु पेपर र एनआई कार्ड थिए । जसको ब्यागमा तोकिएका सामान थिएनन्, उनीहरु स्टेजबाट बाहिरिनु पर्थ्यो । धेरै जना श्रीमान्‌को फोटो ब्यागमा नभएर निस्किए । आखिरमा दुई जना बाँकी रहेका थिए । सबै सामान भएका श्रीमती चन्द्र थापाले खेल जितिन् ।

नम्बरीका केही सदस्यहरुलाई बधाई दिएका थिए । अध्यक्ष मेजर गुरुङ र श्रीमती गंगा गुरुङद्वारा युवा सफल उद्यमी मेरि कुमार गुरुङ र श्रीमती, ब्रिटिस गोर्खा नेप्लिज कम्युनिटी क्याट्रिक एण्ड डारलिङ्गटन युथका कोम्डिनेटर क्या. राम मल्ल र श्रीमती, सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष दल गुरुङ र श्रीमती, नयाँ रेष्टुरेन्ट व्यवसायी शोम गुरुङ र श्रीमती, गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ र श्रीमतीलाई खादा लगाएर बधाई दिए ।

प्रकाश गुरुङले “त्यसैले हामी यहाँ छौं” शीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै गजबीर थापाले गीतिकथा सुनाएका थिए । कुल थापा र नारायण गुरुङको नाच थियो ।

खानाको बन्दोबस्त द प्यालेस रेष्टुरेन्टले गरेको थियो । बेलुका ८ बजे खानापछि कलाकार कल्पना श्रीपालका साथ सबै जना नाचे । कार्यक्रम सचिव पदम भुजेलले संचालन गरेका थिए ।