१२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइजले जित्यो

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन १२ जुन २०२२ । १२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले जितेको छ । लन्डनस्थित हन्स्लो स्पोर्टस क्लबमा शनिबार आयोजित ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको हो । उसले एक हजार पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिमलाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले पुरस्कार प्रायोजन गरेको थियो । मेनतर्फ टिडब्लु स्टार रनरअप भएको छ । प्रतियोगतामा २० टिम सहभागी भएको थियो ।

त्यसैगरी, भेट्रानतर्फ पनि बीबीसी टिम विजयी भएको छ भने धरान ११ रनरअप भयो । यसअघि औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भिसी विजेता गोर्खाहरुको साहस र बहादुरी स्मरण गर्दै गोर्खाहरु बेलायत र नेपालबीच सदियौं लामो सम्बन्धको कडी भएका बताए । उनले महारानीको राज्यरोहणको ७० वर्ष, भिसी रिमेम्बरेन्स डे र फुटबल प्रतियोगिता एकैपटक गरेर बेलायत नेपाल सम्बन्ध अझ मजबुद बनाउन विशेष भूमिका खेलेको बताउँदै आयोजकलाई धन्यवाद दिए ।

गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका अध्यक्ष डोल मल्लको सभापतित्वमा भएको कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका डेपुटी मेयर अदेश फर्माहन, फस्ट रोयल गोर्खा राइफल्सका गोर्खा मेजर राजेशकुमार गुरुङ, स्थानीय काउन्सिलर लगायतले मन्तव्य दिएका थिए । अध्यक्ष मल्लले प्रतियोगिता सफल भएकामा अतिथिहरु, खेलाडी, दर्शक, प्रायोजक र कार्यसमितिप्रति आभार व्यक्त गरे । संस्थाका महासचिव धन सार्कीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी राजदूत आचार्य र संस्थाका अध्यक्ष डोल मल्लले केक काटेर बेलायती महारानीको ‘प्लाटिनम जुब्ली’ पनि मनाइयो । सो अवसरमा पाइपर र नौमती बाजाको धुन बजाइएको थियो ।

औपचारिक कार्यक्रममा एन्जेला र सुजाताले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भिसी विजेता गजे घलेका सुपुत्र डम्बर घले, दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, ग्रेटर रस्मुर नेप्लिज कम्युनिटीका खेलकुद सचिव कुमार गुरुङ, हन्स्लो काउन्सिलका निवर्तमान मेयर तथा वर्तमान काउन्सिलर विष्णुबहादुर गुरुङ, गोर्खाली समाज यूकेका अध्यक्ष अशोक ढकाल, ब्रिटिस नेप्लिज कम्युनिटी यूकेका संयोजक राजेन्द्र ओझालगायत नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।